दुई ठुला दलले सत्ताको लागि संविधान संशोधनको कथा बनाए : प्रचण्ड

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दुई ठुला दलले सत्ता प्राप्तिको लागि संविधान संशोधनको कथा बनाएको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित संविधान कार्यान्वयन ,अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले संविधान संशोधनको कुरालाई ख्याल गर्दा सरकारको एजेण्डा संविधान संशोधनको नभएर माओवादीको सरकारलाई हटाएर सत्ता प्राप्ति गर्ने रहेको बताएका हुन् । 

उनले भने,‘संविधान संशोधनको कुरालाई ख्याल गर्दा,चर्चा परिचर्चा गर्दा शान्ति सम्झौताको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । मेरो विमति कहाँ छ भने, अहिले दुई ठुला दलहरूले त्यसको मर्म अनुसार अगाडि बढ्नुभएको छैन । २–४ दिनसम्म उहाँहरूको एजेण्डा संविधान संशोधन थिएन । उहाँहरूलाई चाहिएको सरकार थियो । माओवादीको सरकारलाई जसरी पनि हटाउनै पर्ने भयो भनेर संविधानको संशोधनको कथा बनाउनु भयो ।’

उनले प्रधानमन्त्री भएर पनि काम गर्न के ले रोक्यो भनेर प्रश्न आउने गरेको भन्दै प्रधानमन्त्री भएर मात्र मन लागेको सबै गर्न नमिल्ने र यो भन्दा बढी गर्नुपरेको भए ,१८ महिना होइन १८ दिनमा नै सरकार छाड्नुपथ्यो भन्दै उत्तर दिए । 

राजनीतिक दलका शक्तिशाली नेताहरूले नै समानुपातिकता या संघीयता मन नपराउने भन्दै कसरी कार्यान्वयन गराउने भन्ने विषय ठुलो चुनौती रहेको बताए । 

उनले भने,‘संविधान र संघीयता जसरी पनि कार्यान्वयन गर्ने या समावेशी समानुपातिकलाई कार्यान्वयन गर्ने तिर होइन यसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने योजना छ । प्रधानमन्त्री भएर पनि के ले रोक्यो भनेर प्रश्न पनि आयो , प्रधानमन्त्री भएर मात्र मन लागेको सबै गर्न मिल्ने भए धेरै गरिन्थ्यो । अलिअलि गर्दा त सुख पाइएन यो भन्दा बढी गर्नुपरेको भए ,१८ महिना होइन १८ दिनमा नै सरकार छाड्नुपथ्यो । राजनीतिक दलका शक्तिशाली नेताहरू नै समानुपातिकता या संघीयता मन पराउनुहुन् । त्यसैले यसलाई कसरी कार्यान्वयन गराउने यो ठुलो चुनौती छ ।’ 

उनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई प्रशंसा गरेको कि आलोचना गरेको भन्ने कुरामा नै आफू अन्योलमा रहेको बताए । 

१५ वर्ष मिश्रले देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै संविधान नै प्रचण्डको भएको टिप्पणी गरेका थिए ।

त्यसकै उत्तरमा प्रचण्डले भने, ‘उहाँलाई मैले यहाँ पस्दैगर्दा तपाईँले प्रशंसा गर्नुभएको कि आलोचना गर्नुभएको बुझ्नै सकिएन भनेको थिएँ । उहाँले अस्ति मैले झट्ट देखेको थिएँ, उहाँले दरबार मार्गको नाम पनि कांग्रेस,एमालेले प्रचण्ड मार्ग राखे हुन्छ भन्नुभयो । यो कांग्रेस, एमाले र प्रचण्डको बीचमा लडाइँ पार्न खोजेको हो कि मलाई त्यो महसुस भयो । त्यो विचार राख्ने मान्छेले प्रचण्डलाई महत्त्व पक्कै दिनुभएको होइन । उहाँले राजनीति गर्नुभएको हो । त्यो स्वतन्त्रता तपाईंलाई छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?