साफ च्याम्पियनसिप फुटबल : सुजनको ह्याट्रिकमा नेपालको पहिलो जित 

लोकपथ
392
Shares

काठमाडौं ।  दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै विजयी भएको छ । 

भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अंक जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको थियो । 

यता दुवै खेलमा पराजित श्रीलंका अंकविहिन छ । श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो । आज नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपे । खेलको चार मिनेटमा सुजनको गोलमार्फत नेपालले पहिलो अग्रता लिएको थियो । त्यसपछि खेलको १२औँ मिनेटमा सुजनले गोल गर्दै आफनो टोलीको अग्रता दोब्बर बनाए ।

सुजनले खेलको ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ८४औँ मिनेटमा विज्ञानले गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाए । नेपालले आफनो तेस्रो खेल आयोजक भुटानसँग यही असोज ९ गते खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?