उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता 

लोकपथ
35
Shares

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् ।

कार्यवाहक प्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमै कार्यसम्पादन करार सम्झौता गरेका हुन् । भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए । सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउनका लागि मन्त्री र सचिवबीच सम्झौता भएको हो ।

‘सम्मानित प्रधानमन्त्रीज्यूसँग मैले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कार्यसम्पादन सम्झौता हस्ताक्षर गरेको थिए । ती प्रतिवद्धताअनुसार कार्यसम्पादनमा बाधा अड्चन नआउने गरी, आयोजनाहरू समयमा सम्पन्न हुने गरी कार्यसम्पादन सम्झौता अक्षरश पालना हुने विश्वास लिएको छु,’ कार्यसम्पादन सम्झौतापछि सिंहले भने । उनले मन्त्रालयको कामलाई जनताले अनुभूति गर्ने गरी अगाडी बढाउन पनि सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

सचिव गेलालले मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने व्यवस्थित र योजनाबद्ध सहरी विकास, सुरक्षित र किफायती आवास, सुलभ र प्रकोप प्रतिरोधी भवन, स्थानीय पूर्वाधारको क्षेत्रमा सञ्चालित आयोजना र कार्यक्रम तथा सेवा प्रवाहमा सुधार, तोकिएको समयावधिमा आयोजना सम्पन्न गर्ने, विकास निर्माण र सुशासनमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनाबद्ध सहरीकरणद्वारा राष्ट्रको विकास गर्ने गरी कार्यसम्पादन सम्झौता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?