मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

लोकपथ
910
Shares

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षा हुनेछ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।

बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न सतर्क रहन विभागको आग्रह छ ।

दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । देशभर मनसुनी वायुको प्रभाव छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?