कट्टर गणतन्त्रवादी र राजावादीको टक्कर : राजाबारे प्रचण्ड लचक नै हुन् त ?

लोकपथ
77
Shares

काठमाडौं । कट्टर गणतन्त्रवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कट्टर राजतन्त्रवादी रविन्द्र मिश्रबीच मंगलबार भेट भयो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई भेट्न उनको घरमै पुगेका राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रबीच राजनीतिका विभिन्न पक्षमा छलफल भयो ।

खुमालटार पुगेर रविन्द्रले प्रचण्डसँग मनका कुरा गरे । त्यसअघि सोमबार एक कार्यक्रममा भेट हुँदा वर्तमान संविधानलाई मिश्रले ‘प्रचण्ड’ को संविधानको संज्ञा दिएपछि त्यसको चर्चा सञ्चारमाध्ययममा खुब भयो ।

अहिले रविन्द्र र प्रचण्डबीचको भेटबारे चर्चा चलिरहेको छ । रविन्द्रका अनुसार उनले प्रचण्डसँग अब राजसंस्थालाई पुनस्थापित नगरेमा मुलुक अघि बढ्नै नसक्ने धारणा राखे । त्यसपछि प्रचण्डको प्रतिक्रियालाई संक्षेपीकरण गर्दै मिश्रले ७ बुँँदामा लेखे । उनका अनुसार प्रचण्डले राजा महेन्द्रलाई ‘भिजनरी राजा’ भनेकोदेखि द्वन्दकालमा राजा विरेन्द्रदेखि ज्ञानेन्द्रसम्म अलि लचक भएको भए आफू मिल्न तयार रहेको कुरा खुलाए ।

मिश्रले प्रचण्डको भनाइलाई संक्षेपीकरण गर्दै यसरी लेखे :


१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु।
२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका ’भिजनरी’ राजा रहेछन्।
३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।
४. राजा ज्ञानेन्द्रले पनि २०६२÷०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।
५. देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो।
६. अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।
७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ’निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।

जो राज संस्थालाई सत्रुवत रुपमा हेरेर नै १० वर्षे क्रान्ति गरेको र राजतन्त्र हटाएर गणतन्त्र स्थापना गरेको भन्दै आफूलाई धुरन्धर गणतन्त्रवादी ठान्छ, उही दल माओवादीले राजा र राजसंस्थासँग लचिलो भएको कुरा त पाच्य हुने कुरा भएन । खास भित्री कुरा के थियो त्यो त थाहा भएन तर भेटेको एउटा पक्षले नै भनेपछि ती कुराहरु पनि भए होलान् भन्ने सबैमा विश्वास लाग्ने नै भयो ।

प्रचण्ड र रविन्द्र मिश्रको भेट र कुराकानीको प्रसंगबारे चर्चा चलिरहँदा पूर्व प्रधानमन्त्री, प्रचण्डका १० वर्षे जनयुद्धका सारथी र अहिले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको अभिव्यक्तिले मिश्रको कुरामा केही बल पुग्यो । उनले भट्टराईले सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले मिश्रसँग गरेको कुराकानीमा सत्यता रहेको भन्दै उनको वास्तविक रुपमा बाहिर प्रकट भएको दाबी गरे । उनले वामपन्थी नेता जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाइ सापटी लिँदै ‘बिरालो म्याउ गरेको’ टिप्पणी गरे ।

बाबुरामले फेसबुकमा लेखेका छन् :

वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा–बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्यॉउ गरिहाल्छ रे१प्रचण्ड र रवीन्द्र मिश्र वीचको अंतरंग कुराकानीको सत्यतथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो। तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखीजान्ने सबैलाई थाहा छ अहिले ‘बिरालो म्यॉउ’ गरेकै हो ! किनकि प्रचण्डको वास्तविकता त्यही हो । यसको अर्थ हो– गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेसी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो। केही राजावादीहरू चिच्याउंदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसंग सॉटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन्, खोस्न दिनु हुँदैन ।

त्यसो त अहिले मात्र होइन राजाको प्रशंगमा केही वर्ष पहिले प्रचण्डले भनेको भनाइले उनलाई आलोचित गरेको थियो । उनले नेपाली राजनीतिमा राजनीतिज्ञहरुको मानमर्दन नभएको भन्दै पहिले राजा महाराजाहरुको शान छुट्टै रहेको टिप्पणी गरेका थिए । गणतन्त्रको मसिहा ठान्ने नेता राजाको शानबाट लोभिनु कतै प्रचण्ड राजाप्रति पहिलेबाटै नरम थिए कि भन्ने प्रश्न जन्माएको थियो ।

प्रचण्ड–रविन्द्रको भेटपछिको प्रतिक्रियाले प्रचण्ड र माओवादीकै थप आलोचना गरेपछि प्रचण्डको सचिवालयले त्यसलाई थप खण्डन गरेको छ ।

प्रचण्ड पुत्री समेत रहेकी स्वकीय सचिव गंगा दाहालले मिश्रले तथ्य बङ्ग्याएर आफ्ना धारणाहरु राखेको भन्दै आपत्ति जनाएकी छिन् । उनले लामो संघर्षपछि संविधान निर्माणको नेतृत्व गरेको र अहिले मुलुकलाई समाजवादको दिशामा लैजान भूमिका खेलिरहेको पात्रलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न मिश्रले खोजेको आरोप लगाइन् । साथै अब निरंकुश पञ्चायत र राजतन्त्रात्मक व्यवस्थाको ध्यानमा जनता नभएको भन्दै सस्तो राजनैतिक प्रचार नगर्न समेत आग्रह गरेकी छिन् ।

दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन् :

हिजो बिहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्र जीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पोस्ट्याउनु भएको छ साथै पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नु भएको छ।

जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपुर्ण आन्दोलनको नेतृत्व गर्नु भयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नु भयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तब्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ। उहाँका विचार भनेर मिश्र जी ले समय सन्दर्भबाट कटाएर आफ्नो राजनैतिक स्वार्थ अनुकुल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।

पन्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोहि नेपाली भ्रममा होलान् र मिश्र जी ? तसर्थ यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि? –सचिवालय

यता मिश्रले पनि प्रचण्डको सचिवालयको खण्डनप्रति प्रतिक्रिया दिएका छन् । आफूले भनेको कुरामा मौन समर्थन गरे पनि बाहिर भद्रतापूर्वक विमती राखेको मिश्रले बताएका छन् । उनले अहिलेको संविधान निर्माणमा प्रचण्डको ठूलो हात रहेको भन्दै अन्य दलका नेताहरु प्रचण्डपथमा लागेको टिप्पणी गरेका छन् । प्रचण्डलाई संघीय लोकतान्त्रिक गणतन्त्रका नायक भन्दै राजा र राजतन्त्रको विषयमा भने विषयान्तर गर्न खोजेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् :

हिजो प्रचण्डजी र मबीच भएको भेटघाटपछि मैले गरेको टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको रहेछ । त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु मेरो पनि दायित्व संझिएको छु। उहाँको सचिवालयप्रति भद्रतापूर्वक विमति राखेकोमा आभारी छु । मेरो थप सानो मात्र टिप्पणी छः ठूला नेताहरूसँग भेट्दा “यो कुराचाहिँ बाहिर नगरौँ/हामी बीचमा रहोस्’’ भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन । र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु । संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन् । काँग्रेस/एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन् । ती सबै ’प्रचण्ड पथगामी’ हुन्। ’नेपालको संविधान २०७२’ वास्तवमा ’प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु । त्यसैले ठूला पार्टीहरूलाई आ–आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?