के हो जितिया पर्व ? यस्तो छ धार्मिक महत्व

लोकपथ
63
Shares

यतिबेला जितिया पर्वको रौनक छ । मुख्यतया पूर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारू महिलाहरूले धुमधामका साथ जितिया पर्व मनाइरहेका छन् । काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु महिलाहरु पनि जितियामा रमाइरहेका छन् । उपत्यकामा २०६० सालदेखि जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रुपमा मनाइरहेका छन् । उपत्यकामा थारु महिला समाज नेपाल लगायतका संघसंस्थाहरुले जितियाको धुमधाम तयारी गरिरहेका छन् । यसै सिलसिलामा थारु महिला समाज नेपाल उपत्यका समिति अध्यक्ष सुशीला चौधरीसँग गरिएको कुराकानी :

जितिया पर्व किन मनाइन्छ ? के छन् यसका धार्मिक तथा पौराणिक महत्वहरु ?

जितिया पर्व एउटा आमाले आफ्नो सन्तानको दिर्घायूको कामना गर्नको लागि, अकाल मृत्युबाट बचाउन कामना गरि मनाइने पुरानो मान्यता छ । यस्तो मान्यता परम्परादेखि नै चली आएको छ । पौराणिक कालदेखि नै सुरु भएको हो यो पर्व खासमा विवाहित महिलाहरुले मनाउने गर्छन् । आफ्नो सन्तानको दिर्घायूको कामना गरेर मनाइन्छ । माइती घरमा गएर दर खाने चलन छ । ठ्याक्कै हरितालिका तीज जस्तै पर्व हो यो । साथीसंगी, दिदीबहिनीहरुसँग रमाइलो गरिन्छ । आपसी मेलमिलाप, सद्भाव, भाषा संस्कृति जगाउनको लागि पनि यो पर्व मनाइन्छ । किनकी कालान्तरमा हाम्रा सन्तानलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

पहिले मनाइने जितिया पर्व र अहिले मनाइने जितिया पर्वमा के–के फरक छ ?

पहिला भन्दा जितिया पर्व मनाउने चलन हिजोआज अलिक फरक छ । सानो छँदा चाडवाड आयो भने नयाँ लुगा लगाउने, मिठो मसिनो खाने चलन थियो । अहिले चाहीँ पहिला जस्तो स्थिति छैन । पुराना चलनहरु हराउन थालेका छन् । गाउँमा यो पर्वको भिन्नै रौनक छ र सहरमा आधुनिकीकरण हुन थालेको छ । आफ्नो इच्छा अनुसार बाँच्न पाएर वा स्वतन्त्रताका कारणले होला । जितियाका अवसरमा हामी पिनाले कपाल धुन्थ्यौं । शहरमा त्यो संभव छैन । कपाल धुनको लागि खोलामा जान्थ्यौँ । अहिले त शहरमा सम्भव हुँदैन तर गाउँमा धारामा गएर नुहाउछौँ । अहिले त पर्वहरु महोत्सवका रुपमा आइसके । त्यसैले अहिले झन रमाइलो छ । तर परम्परा र रितीरिवाज भने जोगाउनुपर्ने बाध्यता छ ।

जितिया पर्वमा कति दिन ब्रत बस्नुपर्छ ? महिलाहरुले नै कि जितिया मनाउनु परेको खास कारण ?

सप्तमीदेखि तीन दिन व्रत बस्ने चलन छ । कृष्ण पक्ष असोज महिनामा पर्छ कहिलेकाँही भदौमा पनि पर्छ । तर तिथी सप्तमी अष्टमी नवमी नै हो । सप्तमीमा नुहाएर बिहानपख दर खाने, देउतालाई ढोगेर पूजा गरेर दही चिउरा चढाउने र त्यो खाएर निराहार ब्रत बस्नुपर्छ । २४ घण्टा पानी नखाइकन ब्रत बस्नुपर्छ ।

ब्रतालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् । दोस्रो दिन अर्थात् अष्टमीका दिन ब्रतालु महिलाहरु निराहार ब्रत बस्ने र त्यस दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन छ । जितियाको अन्तिम तथा पारन (समापन)को दिन ब्रतालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन् ।

जितिया पर्वमा विशेषगरी खाने परिकार के के हुन्छन् ?

दही र सख्खरको प्रसाद तयार गर्ने प्रचलन छ । ब्रत बस्दा पानी पनि खान मिल्दैन भनिन्थ्यो हिजोआज फलफूल खाने चलन बढेको छ । खानपान आफ्नो इच्छा अनुसार हो । विस्तारै परिवर्तन हुँदै पनि छ । स्वास्थ्य सबैभन्दा ठुलो कुरा हो ।

जितिया पर्वका के को पूजा गरिन्छ ?

जितिया पर्वमा चिल अनि स्यालको पूजा गरिन्छ । किनभने चिल र स्याल साथीका रुपमा मानिन्छ । जितवहानको कथा सुनेर आएको हुनाले बालबच्चाको दिर्घायूको लागि ब्रत बसेका थिए भन्ने मान्यता छ । उनीहरुको कथा लामो छ ।

जितिया पर्वको प्रसाद वितरणको तौरतरिका पनि फरक छ रे हो ?

यो पर्वको अलग्गै धार्मिक मान्यता र प्रचलन रहेकाले ठाउँ अनुसार पनि मनाउने तरिका फरक हुनसक्छ । तर विधि र तिथि चाहीँ उही हो । यो पर्व अन्य समुदायले पनि मनाउने गर्दछन् । तराइमा धेरै समुदायले मनाउने गर्दछन् । भारतको विहारतिर पनि मनाउने गर्दछन् । पौराणिक कथामा बिहारको प्रसंग पनि जोडिएको छ । नेपालमा चाँही परम्परादेखि नै चल्दै आएको छ । बिहारमा छोराको लागि मात्र विधि गरिन्छ, पूजा पनि छोराको लागि गरिन्छ भन्ने छ । हाम्रोमा त सबै सन्तान बराबर हो भन्ने मान्यता छ । हाम्रो समुदायमा त्यस्तो भेदभाव हुँदैन ।

पछिल्लो समय अन्य समुदायले शहरमा पनि जितिया पर्व मनाउने चलन सुरु भएको छ । कस्तो सन्देश प्रवाह भइरहेको छ ?

शहरमा जितिया मनाउन पाउँदा धेरैजना खुशी छन् । किनभने पहिला पहिला गाँउमा हुन्थ्यो, धेरै मान्छे गाँउ जान पाउदैनन् । पर्व शहरमा मनाउँदा सबैजना एकैसाथमा दुःख बिर्सिएर रमाउन पाउँछन् । कति जनाले यस्तो समयमा गाउँ सम्झिने गर्छन् ।

शहरमा रहेका बच्चाहरुलाई पनि हाम्रो यस्तो संस्कृती, रितिरिवाज छ भनेर सिकाउन पाइएको छ । आफ्नो संस्कृतीको बारेमा बच्चैदेखि थाहा पाउनु पनि पर्छ । यसको महत्व हाम्रा सन्तानहरुलाई बुझाउनुपर्ने बाध्यता छ । तर यो पर्वको महत्व राज्यले बुझेजस्तो लाग्दैन । किनभने दसैँमा बिदा हुन्छ तर जितियामा हुँदैन । हामीलाई सरकारले बिदा दिएको छैन । महिलाहरु २४ घण्टासम्म ब्रत बस्ने भएकाले एकदमै समस्या हुन्छ । सकेसम्म सरकारले यो दिन बिदा दिने हो भने राम्रो हुन्थ्यो ।

तपाईँले बिदाको माग गर्नुभयो । तपाईंलाई के लाग्छ सरकारले यसलाई राष्ट्रिय पर्व घोषणा गर्ला ?

हामीले कोशिस गरिरहेका छौ । तर खासमा दिनुपर्ने हो । सबै चाडपर्वमा दिएको छ भने हाम्रो पर्वमा पनि दिनुपर्ने हो । थारु समुदायको सम्मानका लागि बिदा दिनुपर्छ ।

जितिया पर्व थारु समुदायले मात्र मनाउँछन्, राष्ट्रिय पर्व भनेर घोषणा गर्दा अन्य समुदायहरुलाई समस्या होला नि ?
पर्वको सबैले वा एक अर्काको मानेको राम्रो हो । किनभने हामीले अरुको परम्परा पनि अपनाएका छौँ । त्यसैगरी उहाँहरुले पनि बुझ्नुपर्छ । एकअर्कालाई नअपनाउँदा समाज र देश समृद्ध हुँदैन । भेदभाव गरेर त हुँदैन नि । सबै तिरबाट आवाज उठिरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि पर्व मनाउन थालिएको छ । पर्व तीन दिनसम्म चल्ने र ब्रतको एक दिन मात्र बिदा दिए पनि हुन्छ ।

यसपालीको जितिया पर्वको तयारी कसरी गर्नुभयो ?

तयारी एक महिना अगाडिदेखि नै गरिरहेका छौँ । हाम्रो संस्थाप्रति बहुसंख्यक समुदायको आशा र भरोसा भएकाले सामान्य तयारीले पुग्दैन । ठूलो कार्यक्रमको आयोजना भइरहेको छ । जनसमुदायहरुसँग कार्यक्रम हुने भएकाले तयारी धेरै नै गर्नुपर्छ ।

हाम्रो संस्था खासमा महिलाहरुको हक, हित र अधिकारको लागि हो । महिलाहरुलाई सक्षम बनाउन, अगाडि बढाउनको लागि हो । विभिन्न सीपमूलक तालिमहरु दिने पनि गरेका छौँ । महिलाहरुको लागि आत्मबल दिने खालको तालिमहरु पनि दिने गर्छौ । महिलाहरुलाई घरबाट बाहिर निकाल्ने वातावरण बनाउने काम पनि गर्छौ ।

जितिया पर्व विवाहित महिलाले मात्र मनाउनको कारण के होला ?

जितियामा विवाहिताले मात्र ब्रत बस्ने चलन छ । ब्रत आफ्नो सन्तानको लागि बस्ने हो । आफ्नो घरको सुख शान्ति र श्रीमानको दिर्घायूका लागि बस्ने हो । पौराणिक र धार्मिक मान्यता नै विवाहितहरुका लागि छ भनेर अध्येताहरुले भन्नुभएको छ ।

जितिया पर्वमा तीन दिनसम्म निराहर ब्रत बस्दा त शारीरिक समस्या हुँदैन र भन्या ?

जितियाको रहर र रमझमले गर्दा भोक लागेको पत्तो हुँदैन । हामी सँधै यही पर्वको प्रतिक्षामा औँला गनिरहेका हुन्छौँ । उत्साह र उमंगका कारण पनि ब्रत बस्ता वास्ता लाग्दैन । एउटा विश्वास र आस्थाका कारण पनि यसको ठूलो महत्व छ । आफ्नो बालबच्चा, घरपरिवारको खुसीको लागि ब्रत बस्न पाउँदा असहज हुँदैन । माइत जाने दिदीबहिनीहरुसँग भेट्ने अनि एकअर्कासँग सुख दुःख बाँड्ने पर्व पनि हो । त्यसैले ब्रत बस्दा असहज हुँदैन ।

जितियाको पुरानो चलन हराउँदै गयो भन्ने गुनासो छ, अब परम्परा कसरी जोगाउन सकिएला ?

पहिला साधारण तरिकाले मनाउने गरिन्थ्यो । अहिले अलिकती भड्किलो अवस्थामा आइपुगेको छ । समय अनुसार परिवर्तन हुँदै गइरहेको छ । सबै ठाउँमा एकनास हुँदैन । सकेसम्म पौराणिक, थारुको मौलिकता झल्किने खालको पर्व मनाउनुपर्ने हुन्छ । पछिल्लो समय कार्यक्रम गरेर पनि यसलाई जोगाउनुपर्छ भनेर सन्देश दिन खोजिरहेका छौँ । कार्यक्रम पनि एकदमै सभ्य र शिष्ट बनाउने गरेका छौँ ।

संस्कृतिलाई जर्गेना गर्नपनि हामी कार्यक्रम गरिरहेका छौँ । पहिला हजुरआमा, हजुर बुवाले लगाउने पहिरन, गहना अहिले धेरै मात्रामा हराइसकेका छन् । बालबच्चाहरुले संस्कृति, पहिरन भुल्छन् भनेर पुरानो गरगहना पहिरन लगाउने गरेका छौं । भड्किलो त हरेक कुरामा भएको नै छ तर गीतहरु पनि भड्किला खालका बजारमा आइरहेका हुन्छन् । तर हामी भड्किलो पर्व हुँदैन भनेर आफ्नो कला, संस्कृति जोगाउन कम्मर कसेर लागेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?