सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सडक तथा हवाई यातायात सेवा प्रभावित हुन सक्ने

लोकपथ
343
Shares

काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर साधारणदेखि पूर्णतया बदली हुँदा केही भू–भागमा वर्षा भइरहेको हो । आज बिहान कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहनेछ ।

सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

विभागले राति देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने बताएको छ । कोशी, बागमती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको  जोखिम रहेको विभागको भनाइ छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको रहेको विभागले यसअघि नै बताइसकेको छ । जसका कारण भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?