मन्त्री भण्डारीको सक्रियताले बजार मूल्य घटेको दाबी

लोकपथ
49
Shares

काठमाडौं । पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आपूर्ति क्षेत्रमा चालेका कदमको कारण दैनिक उपभोग्य सामग्रीहरुको बजार मूल्य घटेको दाबी गरेका छन् । 

नीतिगत रूपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मुल्यका पसलहरू सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको उनको दाबी छ ।    

अहिले बजारमा चिनीमा प्रतिकेजी १५ रुपैयाँ र खाने तेलमा प्रतिलिटर १० रुपैयाँ घटेको, यसका साथै नुन, दाल, पिठो, मैदाको पनि मूल्य घटेको मन्त्रीको सचिवालयले जनाएको छ ।  सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा सञ्चालित सुपथ मुल्यका पसलहरुबाट सस्तोमा गुणस्तरीय उपभोग्य वस्तुहरु उपलब्ध भइरहेका दाबी गरिएको छ । 

चाडपर्वको समयमा उपभोग्य वस्तुहरुको मूल्य घटेपछि उपभोक्तालाई सहज भएको र खाद्य तथा साल्टले सञ्चालन गरेका पसलहरुमा उपभोग्य सामग्रीको पर्याप्तता रहेको बताइएको छ । 

मन्त्री भण्डारीको निर्देशनमा तीव्र रूपमा बजार अनुगमन भइरहेको सचिवालयले जनाएको छ । ७ असोजमा ३५ रुपैयाँ पर्ने बोतलको पानी एकसय रुपैयाँमा बिक्री गरेको पाइएपछि काठमाडौंस्थित जिम्बु रेष्टुरेण्टलाई कारबाही गरी तीन लाख रुपैयाँ जरिवाना अशुल गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी भन्दा बढी मूल्यमा सामान बिक्री भएको पाइएमा तुरुन्त खबर गर्न सूचना जारी गरेको छ । 

मन्त्री भण्डारीले एक सय दिनका लागि तयार गरेको कार्य योजनामा ४ हजार ३ सय बढी पटक बजार अनुगमन गर्ने, अनुगमन पूर्व सूचना बाहिरिने प्रवृत्ति हटाउने लगायतका कुराहरू उल्लेख गरेका छन् । 

नियमित रूपमा भइरहेको बजार अनुगमनका कारण म्याद गुज्रिएको सामानहरू बिक्री वितरणमा कमी आएको जनाइएको छ । मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटलमा गुणस्तरहिन खानेकुरा बिक्री हुने गरेकाले अनुगमन बढाउन निर्देशन दिएका छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता मारमा पर्ने कुरामा सरकार गम्भीर ढंगले लाग्ने बताएका थिए । उनले व्यापारिक क्षेत्रको बदमासी र अनियमितता रोक्नुपर्ने बताएका थिए । सोही अनुरूप उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले कालोबजारीका कारण उपभोक्ता मारमा पर्ने स्थिति हटाउन नीगितग सुधार गर्दै आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?