दन्तकाली विशेष कार्य तालिम शिक्षालयले मनायो २२औँ स्थापना दिवस

लोकपथ
329
Shares

सप्तरी । कञ्चनरुप–२ बरमझियास्थित सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयले विभिन्न कार्यक्रम आयोजना गरी विशेष समारोहको साथ आफ्नो २२औँ स्थापना दिवस मनाएको छ ।

उक्त विशेष समारोहमा प्रमुख अतिथीको रुपमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी, विशेष अतिथिको रुपमा कञ्चनरुप र हनुमाननगर कंकालिनीमाई नगरपालिकाका नगर प्रमुख र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेतको विशेष उपस्थिति रहेको थियो ।

सो अवसरमा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्रबहादुर कार्कीले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले तर्जुमा गरेका विभिन्न किसिमका आधारभूत, उन्नतलगायतका पेशागत तालिमहरु सञ्चालन गरी सशस्त्र प्रहरी कर्मचारीहरुलाई सक्षम, सबल र व्यवसायिक बनाइ दीक्षित गरी कार्य क्षेत्रमा शान्ति सुरक्षा, हुलदंगा व्यवस्थापन, विपद् व्यवस्थापन र सीमा सुरक्षा जस्ता चुनौतीपूर्ण कार्यहरुमा परिचालित भई व्यवसायिक, कर्तव्यपरायण, इमान्दार र निष्ठावान भएर कार्य सम्पादन गरी आगामी दिनमा पनि उपलब्ध श्रोत साधन एवं जनशक्तिको अधिकतम परिचालन गरी नतिजामुखी तालिमहरु सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले शुभकामना मन्तव्यका क्रममा सशस्त्र प्रहरी बल, नेपालले राज्यबाट सुम्पिएको जिम्मेवारी अब्बल ढंगले कार्य सम्पादन गरिरहेको र सीमित साधन श्रोतका बाबजुद विशेष गरी विपद् व्यवस्थापनको क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले शिक्षालयको आदर्श वाक्य ‘ज्ञान साहस सहिष्णुता’ को मुल मन्त्रलाई आत्मसात गरी उच्च मनोबलका साथ अनुशासित भई कार्य सम्पादन गर्न र संगठनमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई समान रुपमा अवसर प्रदान गरिने भन्दै धैर्य गरेर मनोबल उच्च राखी काम गर्न समेत निर्देशन दिए ।

आफ्नो २२औँ स्थापना दिवसलाई भव्यताका साथ समापन गर्न शिक्षालयले मन्दिर सरसफाइ, रक्तदान, विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गरी खेलकुदमा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुलाई पुरस्कार, शिक्षालयमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु र शिक्षालयलाई सहयोग गर्ने महानुभावहरुलाई समेत प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?