कुनै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउनु हुँदैन : मन्त्री पाण्डे 

लोकपथ
28
Shares

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कुनै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउन नहुने  बताएका छन् । 

बिहीबार नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एटिसी सिमुलेटर तथा आधारभूत एयर ट्राफिक सर्भिस तालिमको उद्घाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘कुनै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउनु हुँदैन । नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा २०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ । शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन । प्रधानमन्त्री स्वदेश फर्किएपछि उहाँलाई भेटेर फिर्ता ल्याउने प्रक्रियाको बारेमा कुरा गर्ने वचनबद्धता व्यक्त गर्दछु ।’

उनले जग्गा फिर्ता भएपछि दक्ष जनशक्ति उत्पादन गर्नका लागि आवश्यक संरचना बनाउने समेत विश्वास दिलाए । मन्त्री पाण्डेले एकेडेमीको जग्गा अपुग भएको बताउँदै सरकारले लिएको एकेडेमीको जग्गा एकेडेमीमै फर्काउने गरी पहल गर्ने वचनबद्धता दोहोर्‍याए ।

मन्त्री पाण्डेले प्रतिष्ठानबाट उत्पादित जनशक्तिले नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिए । 

उनले अगाडि भने, ‘नागरिक उड्डयन क्षेत्र कमजोर भयो भने धेरै कुरा देखाउन सक्दैनौँ । हामीसँग नेपालको आकाश सुरक्षित भन्ने सन्देश प्रवाह हुने गरी काम गर्न जरुरी छ । नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश संसारभर फैलाउन जरुरी छ । असुरक्षित छ भन्ने गलत भाष्य र प्रवृत्ति रोक्नुपर्छ । ’

मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्नका लागि  कुनै कसर बाँकी नराख्न नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक (डिजि)लाई निर्देशन दिँदै त्यसको जिम्मा प्राधिकरणले लिनुपर्ने बताए । त्यसैगरी उनले नेपालका एयरलाइन्सलाई सुरक्षित र भरपर्दो बनाउनका लागि सरकारले आवश्यक हस्तक्षेप गर्दै अघि बढ्ने समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?