घरेलु उद्यमी मेला तथा दसैँ महोत्सव २०८१ सुरु हुँदै

लोकपथ
49
Shares

काठमाडौं । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दसैँ महोत्सव २०८१ आयोजना हुने भएको छ ।

घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रूपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकासँगको सहकार्यमा असोज १३ देखि २३ गतेसम्म जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरूको जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।

काठमाडौं जिल्लाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहने उनले बताए । लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टलका साथै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका आकर्षणको रूपमा रहेको उनले जानकारी दिए ।

घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्वारा उत्पादन गरिएका वस्तुहरूलाई प्रवर्द्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्वारा उत्पादित वस्तुहरूको उपभोगमा वृद्धि गरी बेरोजगारीलाई केही हदसम्म कमी ल्याउने उद्देश्य रहेको बताइन् ।

काठमाडौं जिल्लाका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंसँगको सहकार्य र सह आयोजनामा गरिन लागेको यो दोस्रो जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी घरेलु उद्यमी मेला तथा दसैँ महोत्सवमा बढी भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरूलाई अवलोकन गराई नेपाली उत्पादन तथा वस्तुहरूको ब्राण्डिङका साथै पहिचान गराउने मेलाको उद्देश्य रहेको संघकी अध्यक्ष कार्कीले बताइन् ।

रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई प्रदर्शनीमार्फत स्वदेशमै केही अवसरहरू छन्, हामीले चाहेको अवस्थामा केही गरौँ आफ्नै देशमा, रोजगार सिर्जना गरौँ आफ्नै देशमा भन्ने मनोभावनाका साथ काम गरौँ भन्ने मेलाको मुख्य ध्येय रहेको छ ।

नेपाल सरकारमार्फत पनि स्वदेशी उद्योग तथा उद्यमीहरूलाई प्रवर्द्धन गर्नको लागि प्रतिस्पर्धी बजारमा स्वदेशी उत्पादनहरूलाई लागत घटाउनको लागि आवश्यक करका दरहरू देखि दर्ता, नवीकरणका कार्यहरू समेत सहज गर्नुपर्ने व्यवस्था देखिएको मेला संयोजक श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व अध्यक्ष तथा संघका सल्लाहकार आङदेण्डी शेर्पा, घरेलु तथा साना उद्योग संघ काठमाडौँका उपाध्यक्ष ईश्वर गुरुङ, फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष नानीराज घिमिरे, संघ अन्तरगत महिला उद्यमी समितिकी अध्यक्ष उषा दाहाल, उपाध्यक्ष लक्ष्मी नेपाल, सदस्य अन्जु बस्नेत, महासंघ केन्द्रीय सदस्य सुशील तामाङ र इन्द्र बहादुर महर्जनलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?