एकताको मोर्चा अघि बढेको छ, चाँडै नयाँ समाचार सुनाउँछौ : प्रचण्ड

लोकपथ
203
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबारे चाँडै नै नयाँ समाचार सुन्न पाइने बताएका छन् । 

बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरू समाजवादी मोर्चालाई,कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा रहेको भन्दै केही समयभित्र नै पार्टी एकताको समाचार सुन्न पाउने बताएका हुन् । 

उनले भने, ‘हामी समाजवादी मोर्चालाई बलियो बनाउने,कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा छौँ । मलाई विश्वास छ केही समयभित्र नै केही नयाँ समाचार सुन्नुहुनेछ । एकताको र मोर्चाको अभियानमा लागिरहेका छौँ । सम्मेलनले त्यो मोर्चामा आवश्यक नीति,योजना र कार्यक्रम गर्नेछ ।  उनले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्ने पनि बताए । 

‘थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौं । भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौ, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ । यसले नेपालमा मात्र होइन, विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्ने छ,’ उनले भने । 

उनले आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतिहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताए 

विरोधीहरूले सधैँ षड्यन्त्र गर्ने र त्यसको प्रतिवाद गर्नु क्रान्तिकारीहरूको दायित्व हुने उनको भनाइ थियो । ‘हिजो जनयुद्धभरी एकपछि अर्को घेरा र दमन चलाइएको थियो, घेरा तोड्ने र प्रतिरोध गर्ने हाम्रो नीति थियो । अहिले पनि हामी त्यसरी अघि बढिरहेका छौँ । संविधान बन्न नदिने, संविधान कार्यान्वयन हुन नदिएर चुनावमा जान नदिने जस्ता षड्यन्त्र थिए, हामी सबै घेरा तोडेर आएका हौँ । अहिले फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुनेछौँ, त्यसका लागि तपाईँ विद्यार्थीहरू तयार हुनुहोला,’ उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?