महालक्ष्मी हत्याकाण्ड अपडेट : नेपालीसँग विवाह गरिन्, भारतीय प्रेमीद्वारा मारिइन्

हत्यापछि टुक्रा टुक्रा पारी शव फिजमा राखिएको थियो, हत्यापछि प्रेमीद्वारा पनि आत्महत्या

लोकपथ
1.1k
Shares

काठमाडौं । भारतको बैंगलोरस्थित व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइपलाइन रोडको तीनतले भवनमा बस्दै आएकी महालक्ष्मीको हत्या उनकै प्रेमीले गरेको खुलासा भएको छ । नेपाली नागरिक हेमन्त दाससँग विवाह गरेकी उनी श्रीमानसँगको सम्बन्धमा ‘दरार’ आएपछि एक्लै बस्दै आएकी थिइन् ।

सन् २०१९ मा विवाह गरेका उनीहरु त्यसपछि रोजगारी र राम्रो जीवनको आशा लिएर नेपालबाट भारतको बैंगलोर पुगेका थिए । त्यहाँ हेमन्तले मोबाइल पसलमा काम गर्न थाले भने महालक्ष्मीले प्रख्यात् मलको सौन्दर्य पसलमा सेल्सवुमन टिम लिडरको काम पाइन् । उनीहरू बैंगलोरको नीला मंगला क्षेत्रमा भाडाको घरमा बस्न थाले । केही समयपछि छोरी जन्मियो ।

विवाहपछि उनीहरूको जीवन ठीकठीकै चलिरहेकोमा सन २०२३ मा हेमन्त र महालक्ष्मी अलग्गिए । छोरी भने हेमन्त दाससँग बस्थिन् । उनी छोरीलाई भेट्न १५–२० दिनको अन्तरमा जान्थिन् ।

अनुसन्धानअनुसार हेमन्त र महालक्ष्मीबीच सम्बन्ध बिग्रनुको कारण हेमन्तले श्रीमतीमाथि शंका गर्नु नै थियो । हेमन्तले महालमक्ष्मी र उत्तराखण्डमा हेयर ड्रेसल काम गर्ने अशरफबीच प्रेम चलिरहेको आशंका गरेका थिए । यो विषयमा उनीहरुबीच धेरै झगडा पनि हुने गरेको थियो । झगडा उत्कर्षमा पुगेपछि ९ महिनादेखि उनीहरु अलग अलग बस्दै आएका थिए । त्यसो त सुरुमा महालक्ष्मी आमा र बहिनीसँग बसेकी थिइन् । ५ महिनायता भने उनी एक्लै भाडाको घरमा बसिरहेकी थिइन् ।

उनको हत्यापछि प्रहरीले गरेको अनुसन्धानमा यो बीभत्स हत्याकाण्डका मुख्य आरोपित मुक्ति रञ्जन रे भएको खुलेको छ । हालै एक भारतीय पत्रिकासँगको कुराकानीमा मुक्तिका भाइ सत्यले महालक्ष्मीको हत्यापछि शव झुण्ड्याएर आत्महत्याजस्तो देखाउन खोजेको तर सफल नभएपछि शरीर टुक्राटुक्रा पारेको बताएका छन् । ३१ वर्षीय मुक्तिले गत बुधबार ओडिशामा आत्महत्या गरिसकेका छन् ।

महालक्ष्मीको शव यही सेप्टेम्बर २० का दिनबैंगलोरको व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइप लाइन रोडस्थित उनी बस्ने तीनतले भवनभित्रको कोठामा टुक्राटुक्रा अवस्थामा भेटिएको थियो । उनी बस्दै आएको कोठाबाट खपिनसक्नुको दुर्गन्ध आउन थालेपछि अन्य कोठामा बस्नेले घरमालिकलाई खबर गरेका थिए । सूचनापछि आफ्नो घरमा पुगेका घर मालिक पनि खपिनसक्नुको दुर्गन्धले आत्तिए । त्यसपछि उनले दुई वटा काम गरे । पहिलो काम थियोे, प्रहरीलाई खबर । अनि दोस्रो काम थियो, कोठाभाडा सम्झौता गर्दाको विस्तृत विवरणको खोजी । कोठाभाडा सम्झौता गर्दा महालक्ष्मीले आकस्मिक सम्पर्कका लागि बेंगलुरुमा बस्ने आफ्ना आमा र बहिनीको फोन नम्बर राखेकी थिइन् । घरधनीले महालक्ष्मीकी आमालाई फोन गरेर महालक्ष्मी बस्ने कोठा बन्द रहेको र दुर्गन्ध आइरहेको कुरा सुनाएका थिए ।


घरधनीको कुराले महालक्ष्मीकी आमा पनि आत्तिइन् । कारण थियो, महालक्ष्मी र उनकी आमाको १९ दिनदेखि कुरा भएको रहेनछ । त्यसपछि उनी आफूसँग पनि भएको कोठाको चाबी लिएर अर्की छोरीसँगै महालक्ष्मी बस्ने घर पुगिन् ।


जब प्रहरीको रोहवरमा कोठा खोलियो, खपिनसक्नुको दुर्गन्थ थप फैलियो । अनुसन्धानका क्रममा कोठाभित्र महालक्ष्मीको हत्या गरी कोठामा रहेको १६५ लिटर मोडलको सिंगल डोर फ्रिजभित्र उनको शव ३० देखि ४० टुक्रामा राखेको भेटिएको थियो । यतिमात्रै नभई भुईंमा पनि जताततै शवका टुक्रा छरिएको अवस्थामा भेटिएको थियो । घटनास्थलको दृश्य यति भयानक थियो कि बैंगलोर प्रहरीसमेत छक्क परेको थियो । शवका टुक्रा संकलन गर्न बैंगलोरको फोरेन्सिक टोली एक्लैले नसकेर सरकारी अस्पतालका मेडिकल स्टाफलाई समेत बोलाउनु परेको थियो ।


टाइम्स अफ इन्डियासँग कुरा गर्दै मुक्तिका भाइ सत्यले आफ्ना दाइले २/३ महिनापछि शव फाल्ने योजना रहेको आफूलाई सुनाएको पनि बताएका छन् । इन्जिनियरिङका विद्यार्थी सत्यले उक्त पत्रिकासँग कुरा गर्दै भनेका छन्, ‘म बेरहमपुरमा बसेर बस्छु र पढ्छु, मेरा दाइले त्यहाँ आएर मलाई सबै कुरा बताएका हुन् । उनले महिलाको आफ्नै घरमा हत्या गरी शव झुण्ड्याएर आत्महत्याको घटना देखाउने योजना बनाएका थिए । जब उनको योजना असफल भयो, तब शवलाई टुक्रा–टुक्रा पारे र फ्रिजमा राखेका थिए ।


सत्यका अनुसार महालक्ष्मी उनका दाइ मुक्तिसँग विवाह गर्न चाहन्थिन् । तर बेंगलुरुको एउटै पसलमा काम गर्ने उनीहरूबीच पछिल्लो समय खटपट परिरहेको थियो । सत्यले पत्रिकासँग भनेका छन्, ‘दाइ (मुक्ति) ले बताएअनुसार महिलाले उनीसँग पैसा मागिरहेकी थिइन्, उनलाई मानसिक पीडा पनि दिइरहेकी थिइन्, हालै उनीहरू दुवै केरला गएका थिए, जहाँ उनीहरूबीच झगडा भएको थियो, त्यसपछि महिलाले प्रहरीसँग आफूलाई मुक्तिले अपहरण गरेको बताइन् । अनि प्रहरीले दाइलाई कुटपिट गर्‍यो र पछि छाडिदियो ।’

सत्यले महालक्ष्मीको व्यवहारले आफ्नो दाइ तनावमा रहेको र बारम्बार गहना र पैसा मागेकाले त्यसबाट छुटकारा पाउन चाहेको पनि बताएका छन् । पत्रिकासँग सत्यले भनेका छन्, ‘सेप्टेम्बर ३ मा झगडापछि दाइले महिलाको घाँटी थिचिदिए । त्यसपछि शव छतमा झुण्ड्याउने प्रयास गरे तर सकेनन् । त्यसपछि राति उनले महिलाको शव टुक्राटुक्रा पारेर फ्रिजमा राखे ।’

यो अपराधपछि मुक्ति डिप्रेसनमा गएको उनका भाइ सत्यको भनाइ छ । उनले पत्रिकासँग भनेका छन्, ‘उन (मुक्ति) ले मसँग महिलाको हत्या गर्दा र उनको शरीर टुक्राटुक्रा पार्दा आफूलाई कुनै होस नभएको बताएका थिए ।’

यो पनि : जब बन्द कोठाको फ्रिजभित्र टुक्रा टुक्रा पारिएको अवस्थामा महिलाको शव भेटियो…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?