बार एशोसिएशन र कर्मचारी युनियनहरूको विरोधपछि सर्वाेच्चको न्यायाधीशमा दुई जना सिफारिस

लोकपथ
98
Shares

काठमाडौं । एक सातापछि अवकाशमा जान लागेका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपरिषद बैठक राखेर उच्च अदालतका दुई न्यायाधीशलाई सर्वोच्चमा सिफारिस गरेका छन् ।

प्रधान न्यायाधीशबाट बिदा भएर जाँदाजाँदै सर्वोच्च अदालतमा आफ्नो पकड पछिसम्म बनाइराख्न उनले विवादका बीच न्यायाधीश नियुक्त गरेका हुन् । यद्यपि, उनी पूर्णरुपमा भने सफल हुन सकेनन् । सिफारिस हुनेमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेय छन् ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन् । ६ पुस, २०९३ मा टेकप्रसाद ढुंगाना अवकाश भएपछि निरौला पुगनपुग दुई महिनाका लागि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् । निरौला सर्वोच्च अदालतका तेस्रा मुख्यरजिष्ट्रार हुन् । उनी मुख्यरजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त भएका थिए ।

निरौला यसअघि नै सर्वोच्चको न्यायाधीशमा नियुक्ति हुनुपर्ने भएपनि एकमात्र मुख्य न्यायाधीश रहेका उनलाई त्यसबेला श्रेष्ठसहितले न्यायाधीश बन्नबाट रोकेका थिए । नित्यानन्द पाण्डेलाई जसरी पनि न्यायाधीश बनाउनुपर्ने भएकाले श्रेष्ठले यसपटक नृपध्वजलाई रोक्न सकेनन् किनकी उनी निर्विवाद थिए ।

सर्वोच्चमा सिफारिस भएका पाण्डेय भने गत मंसिरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए । पाण्डेलाई आफ्नो पालामै जसरी पनि सर्वोच्चमा ल्याउने प्रधानन्यायाधीश श्रेष्ठको योजना सफल भएको छ । उनी सुदूरपश्चिमबाट कांग्रेस कोटामा वकिलबाट उच्चको न्यायाधीश भएका थिए ।

नेपाल बार एशोसिएशन र कर्मचारी युनियनहरूको विरोधपछि न्यायपरिषद बैठकले सर्वाेच्चमा दुई न्यायाधीश सिफारिस गरेको हो । भित्र बैठक बस्दा बाहिर नेपाल बारको आन्दोलन चलिरहेको थियो । सेवानिवृत्त हुनै लागेका प्रधानन्यायाधीश श्रेष्ठले संविधानका व्यवस्थाविपरीतको न्याय पारिषद् नियामावलीमा टेकेर नयाँ न्यायाधीश नियुक्त गर्न लागेको भन्दै बार विरोध उत्रिएको हो ।

अन्यको सिफारिस गर्न भने परिषदमा सहमति नभएको बताइएको छ । मुख्य न्यायाधीशबाटै रमेशप्रसाद राजभण्डारी पनि सर्वोच्चको न्यायाधीश हुने सूचीमा रहे पनि यसपटक उनी छुटेका छन् । सर्वोच्च अदालतमा ५ न्यायाधीश रिक्त छन् । शुक्रवारको बैठकले पाँचैजनाको सिफारिस भने नगरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?