काठमाडौं । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सरकारले एक समारोहबीच सम्मान गरेको छ ।
जमलस्थित राष्ट्रिय नाचघरमा एक समारोहको आयोजना गरी कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरीलगायतले पर्यटन क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गरेका हुन् ।
दिवसकै अवसर पारेर दिवसकै दिन नेपाल घुम्न आएका पहिलो पर्यटकहरूलाई सम्मान गरिएको छ । जजिरा एअरलायन्स र फ्लाई दुबईबाट नेपाल आउने पर्यटकहरूलाई विमानस्थलमा स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डमा वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटकहरूलाई खादा तथा बुद्ध मूर्तिले स्वागत गरेका थिए ।
विश्व पर्यटन दिवसकै अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले सबैभन्दा बढी टिम्स काट्ने पाँच वटा कम्पनीलाई सम्मान गरेको थियो भने ग्रामीण पर्यटन मञ्च (भिटोफ) ले गुल्मी, धादिङ र संखुवासभाका तीन वटा होमस्टेलाई पर्यटन गाउँ घोषणा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया