नेपालका यी १२ परियोजना निर्माणका लागि भारतले झण्डै आधा अर्ब सहायता अनुदान दिने

लोकपथ
28
Shares

काठमाडौं । भारत सरकारको अनुदान सहायता अन्तर्गत नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

भारत सरकारको कूल अनुमानित लागत ४७ करोड ४ लाख अनुदान सहायता अन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाउनेसम्बन्धी सहमति भएको हो ।

नेपालस्थित भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरुबीच आज समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको दूतावासले जनाएको छ ।

यी १२ वटा परियोजनाहरु क्रमशः ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकास्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयको विद्यालय भवन, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित स्वर्णन्तरल आधारभूत विद्यालय, भोजपुरको अरुण गाउँपालिकास्थित अरुण बहुउद्देश्यीय प्रतिष्ठानको भवन, दैलेखको दुल्लु नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवनको विद्यालय भवन रहेको छ ।

त्यस्तै सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, चितवनको रत्ननगर नगरपालिकास्थित बछौली माध्यमिक विद्यालय भवनको निर्माण, सोलुखुम्बुको सोताङ गाउँपालिकामा बसेपु–हुलु खानेपानी आयोजनाको निर्माण, सुनसरीको इनरुवा नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि कृषि प्रवर्द्धन केन्द्रको लागि भवन निर्माण, धादिङको खनियाबास गाउँपालिकामा स्वास्थ्य चौकी–प्रसुति केन्द्रको निर्माण र दाङको तुलसीपुर उप–महानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवनको निर्माण रहेका छन् ।

यी परियोजनाहरु नेपाल सरकारका स्थानीय निकायहरु जस्तैं महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमार्फत कार्यान्वयन गरिनेछन् ।

यी परियोजनाहरुको निर्माणले स्थानीय समुदायलाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा, खानेपानी, कृषि उपज भण्डारण र सांस्कृतिक सुविधाहरु उपलब्ध गराउन मद्दत गर्नेछ ।

सन् २००३ यता भारतले नेपालमा आज समझदारीपत्रमा हस्ताक्षर भएका १२ वटा परियोजनाहरुसहित ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ र भुँइतहमा नेपालका सातवटै प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, रिभर ट्रेनिङ्ग, खानेपानी, विद्युतीकरण, सिंचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक संरचनाको निर्माण जस्ता क्षेत्रमा ४९० वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । बाँकी अन्य परियोजनाहरु विभिन्न चरणमा संचालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?