दसैँको मुखमा नेपाली जनतामाथि बज्रपात, सरकारले देखाएन चासो

लोकपथ
21
Shares

काठमाडौं । नेपालीहरुको महान पर्व दसैँ नजिकिएको छ । दसैँको माहोल सुरु हुन केही दिन मात्रै बाँकी रहँदा नेपालमा प्राकृतिक विपत्ति आइपरेको छ ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर देशभर १ सय भन्दा बढी नागरिकको मृत्यु भएसकेको छ । त्यस्तै सयौँको संख्यामा नागरिकहरु हराइरहँदा हजारौँ घाइते हुन पुगेका छन् ।

मौसम विभागले केही दिन अघि देखि नै नेपालमा भारी वर्षाको सम्भावना देखाउँदा सरकारले पूर्व तयारी गर्न नसक्दा ठुलो धनजनको क्षति भएको हो । अहिले आएको वर्षाका कारण धेरै क्षति देशको संघीय राजधानी काठमाडौंमा देखिएको छ । संघीय राजधानीमा नै धेरै जनाले डुबेर ज्यान गुमाएका छन् । त्यस्तै भक्तपुर, ललितपुर लगायत राजधानी आपसापका जिल्लामा समेत ठुलो क्षति भएको छ ।

सामान्य अवस्थामा हुँदो हो त यतिबेला बजार चाडवाडको माहोलले छोपिसकेको हुने थियो । तर चाडपर्वकै मुखमा आएको प्रकृतिको बज्रपातका कारण नेपालीहरुमा निराशा छाएको छ ।

सय भन्दा बढी नागरिकको ज्यान जाने अवस्था, ठुलो भौतिक क्षति हुँदा समेत सरकारले भने चासो देखाउँन सकेको छैन ।

देशभरका मुख्यमुख्य सबैजसो राजमार्गहरु बन्द भएका छन्, शनिबार नै आपतकालीन बैठक बसेर सरकारले तत्काल ती नाका खुलाउने त भनेको छ । तर कसरी उद्धारको कामलाई प्रभावकारी बनाउने र राजमार्गको मर्मत गर्ने भन्ने योजना भने सरकारले प्रस्तुत गरेको छैन ।

पटकपटक प्राकृतिक विपत्ति आइरहे पनि राज्यले भने त्यसलाई रोक्न दीर्घकालीन उपायहरु अबलम्बन गर्न सकिरहेको छैन ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री शर्मा ओली अमेरिका भ्रमणमा रहेका छन् । महासभाको मुख्य कार्यक्रम सकिए पनि अन्य सामान्य काममा भुलेर प्रधानमन्त्री ओली त्यहाँ बसिरहेको भनेर नागरिकको तर्फबाट आलोचना समेत भइरहेको छ ।

नेपालमा वर्षेनी प्राकृतिक विपत्ति आइरहेको छ । तर सरकारले त्यसलाई रोक्न उचित कदम चाल्न नसक्दा ठुलो धनजनको क्षति भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?