काठमाडौं । गृह मन्त्रालयले शनिबार र आइतबार बिहान (हालसम्म) नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन् ।
खराब मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइएपनि उद्धार गर्न असहज भएको थियो । काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार कार्य जारी राखेको छ । प्रवक्ता तिवारीले गृहमन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरुको उद्धारमा सेनाले लगातार हवाई उद्धार गरिरहेको बताए ।
त्यसैगरी शनिबार काठमाडौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाई उद्धार गरिएको थियो । गृहमन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए ।
गृहमन्त्रालयको तथ्याङ्क अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् ।
गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकपताका साथ लाग्न निर्देशन दिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया