काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपदबारे पूर्व सूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको बताएका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भए पनि थप व्यवस्थित गर्न जरुरी रहेको बताएका हुन् ।
‘विपद न्यूनीकरण र विपद्को व्यवस्थापनमा दुई वटा चरण हुन्छ । एउटा विपद् पूर्वको सूचनाको विषय हो । पूर्वानुमान अनुसार सूचनाको सम्प्रेषण पनि भएको थियो । त्यो सूचनालाई आगामी दिनमा थप व्यवस्थित गर्न जरुरी छ,’ गृहमन्त्री लेखकले भने, ‘अर्को विपद्को प्रतिकार्यको विषय हो । त्यसका लागि पूर्व तयारी नभएको होइन । सरकारले पूर्व तयारी गरेकाले नै क्षतिलाई न्यूनीकरण गर्नका लागि सहयोग पुगेको छ । आगामी दिनमा यसलाई थप व्यवस्थित गरेर जान जरुरी छ ।’
गृहमन्त्री लेखकले सरकारले आज चार वटा कुरामा जोड दिएर जाने बताए । ‘पहिलो खोजी उद्धारको विषय हो । हामीले मानिसहरूको खोजी गर्नुछ । दुःख र पीडामा रहेका मान्छेलाई उद्धार गर्नुछ । सँगसँगै राहत पनि अगाडि बढाउनु छ । घाइतेहरूको उपचार गर्नु छ । राजमार्ग चाँडोभन्दा चाँडो खोल्नुपर्ने छ । सरकार तत्काल यी चार कुरामा ध्यान दिएर अगाडि बढ्छ,’ उनले भने ।
बाढी र पहिरोबाट १४८ को मृत्यु, ५९ बेपत्ता र ६० जना घाइते रहेको गृहमन्त्री लेखकले बताए । ३ हजार ३ सय ३६ जनाको सकुशल उद्धार गरिएको उनको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले उद्धार राहतमा काम गरिरहेको भन्दै सरकारका अन्य निकायले समन्वयात्मक रूपमा काम गरिरहेको उनले बताए ।
‘उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । चाँडो उद्धार गर्नुपर्नेको उद्धार भइरहेको छ,’ उनले भने, ‘बालबालिका, सुत्केरी, अपांगता भएका व्यक्ति, वृद्धिहरूलाई प्राथमिकता दिएर उद्धार गर्न निर्देशन गरिएको छ । हरेक जिल्लादेखि केन्द्रसम्म उद्धारका लागि हटलाइनको व्यवस्था गरिएको छ ।’
डुबानमा परेका उपत्यका लगायत देशका सम्पूर्ण स्थानमा खाद्यान, खानेपानी, अस्थायी बसोबास, प्राथमिक स्वास्थ्य तथा महामारी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन गरिएको गृहमन्त्री लेखकले बताए । नख्खु खोलामा केही मानिसका उद्धारबारे उठेको प्रश्नमा पनि गृहमन्त्री लेखकले प्रस्ट पारे ।
‘नख्खु खोलामा प्रहरी पुग्दै नपुगेको होइन । सेनाको हेलिकप्टर पनि त्यहाँ पुर्याउने कोसिस भएको हो । भिजिबिलिटीका कारण सेनाको हेलिकप्टर जान सकेन । नेपाल प्रहरी र सशस्त्र प्रहरी गएका छन् । उद्धार गर्न गएका सशस्त्र प्रहरी बग्दा पौडेर उद्धार भएको छ । नख्खु खोलाको घटनामा उद्धार गर्न खोज्दा खोज्दै घटना भएका हो,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया