अवरुद्ध राजमार्ग र सडकहरू पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने

लोकपथ
182
Shares

काठमाडौं । शुक्रबारदेखि देशभर आएको वर्षाका कारण अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालकाअनुसार सडकहरू मर्मत गर्ने तथा बाढीले बगाएका पुलहरुमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र सडक विभागले सक्रियता बढाएको छ ।

देशको राजधानी जोडने लाइफ लाइनका रूपमा रहको मुख्य राजमार्ग नागढुंगा–नौविसें–मुग्लिङ सडकको झ्याप्ले खोलाको अवरोध हटाएपछि पृथ्वी राजमार्गमा सवारी यातायात सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । वीपी राजमार्गको वर्दिवासदेखि नेपालथोक सम्मको अवरोध हटाइ यातायात सुचारु भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने प्रवक्ता ढकालले जानकारी दिए । 

टोखा–गुजें भन्ज्याङ–छहरे नुवाकोट हुँदै स्याफ्रुवेशीसम्मको सडक सुचारु अवस्थामा छ भने स्याफ्रुवेशीदेखी रसुवागढी सम्मको अवरुद्ध सडक सोमबारसम्म सञ्चालनमा आउने पनि ढकालले जनाए ।

अरनिको राजमार्गको ब्राहबीसे–दोलालघाट–धुलिखेल खण्ड सोमबार साँझसम्म सुचारु हुने गरी कार्य भइरहेको छ । तर वीपी राजमार्गको विकल्पको रूपमा मुलकोटबाट सित्खा पुल हुँदै मन्थलीसम्म जाने सडक सुचारु भएको छ भने सित्खा–खाँडादेवी–गाल्वा सडक सोमबारसम्म सुचारु हुने मन्त्रालयले जनाएको छ ।

सडक विभागको तथ्यांकअनुसार आइतबार साँझसम्म १८ वटा राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका थिए । १७ वटा राजमार्गका ४७ स्थानमा यातायात सेवा पूर्ण टुटेको थियो भने ४०१ स्थानमा एकतर्फी मात्रै यातायात चलाउन सकिएको विभागले जनाएको छ । पाँचवटा मोटोरेवल पुल बगाएको विभागको तथ्यांक छ । यद्यपि, २६४ वटा इक्यूपमेन्ट प्रयोग गरेर सडक मर्मत एवं उद्धार भइरहेको मन्त्रालयको दाबी छ ।

चाडपर्व नजिकिएकाले सडक मर्मत, वैकल्पिक बाटो प्रयोगको विषयमा मन्त्रालय र विभागले ठुलो जनशक्ति परिचालन गरेको जनाएको छ । अविरल वर्षाका कारण देश भरका ८० वटा राष्ट्रिय राजमार्गहरू मध्ये ४७ स्थानमा राजमार्गहरू पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?