काठमाडौं । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्धारलाई तीव्र पारिएको छ ।
आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिकालगायत विभिन्न प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर परिचालित रहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिए । ‘गत शनिबार खराब मौसमका कारण काभ्रेपलाञ्चोकमा हेलिकप्टरबाट उद्धार गर्न सकिएन । मौसममा सुधार आएसँगै सेनाको हेलिकप्टर उद्धारमा निरन्तर खटिएको छ ।’
उनले सोमबार (हालसम्म) सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोकको दार्चा र मंगलटारबाट १३२ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको जानकारी दिए । उद्धार गरी ल्याइएका र अलपत्र यात्रु तथा स्थानीयहरूलाई गृह मन्त्रालयले तत्काल राहतको सामाग्री पनि उपलब्ध गराइरहेको उनले बताए ।
त्यसैगरी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सिन्धुली र ललितपुरमासमेत पठाइएको प्रवक्ता तिवारीले बताए । आइतबार काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुरमा गरी १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
यहाँको वीपी राजमार्गमा अवरुद्ध सडक खुलाउनुका साथै डोरीको सहायताबाटसमेत सुरक्षाकर्मीले अलपत्र यात्रुहरूको उद्धार जारी राखेका छन् । भने सो क्षेत्रको सडक सुचारु गर्न आवश्यक सवारीसाधनका लागि पेट्रोलियम पदार्थसमेत हेलिकप्टरबाट ढुवानी गरिरहेको गृह मन्त्रालयले जनाएको छ । यता पहिरोका कारण पृथ्वी राजमार्ग अन्तरगत धादिङको झ्याप्ले अवरुद्ध सडक आइतबार रातिदेखि सुचारु भएको छ ।
विपद्मा अलपत्र परेकाहरूको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम प्रभावित क्षेत्रमा सक्रियताका साथ परिचालित रहेको गृह मन्त्रालयले जनाएको छ । प्रवक्ता तिवारीकाअनुसार हालसम्म सुरक्षाकर्मीहरूले चार हजार जनाको सकुशल उद्धार गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया