भनिन्छ, मान्छेको जिन्दगीले कहाँ पुगेर रङ्ग फेर्छ थाहा हुँदैन । कहाँ पुगेर मान्छेको जिन्दगीले नयाँ मोड लिन्छ त्यो पनि थाहा छैन । अहिले सामाजिक सञ्जालमा चर्चित छन्, काभ्रे तिमालका ३६ वर्षीय चनिकलाल तामाङ । सामाजिक सञ्जालको भाषामा भन्ने हो भने उनी अहिले जताततै भाइरल छन् । पछिल्लो समय सानो काम गर्नेदेखि जोसुकैलाई पनि यूट्युबरले भाइरल बनाउने चलन छ ।
तर चुनिकलाल जसरी भाइरल भए त्यसमा उनले आफ्नो ज्यानकै बाजी लगाए । बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले देशभरको जनजीवन प्रभावित थियो । अहिले काठमाडौं उपत्यकामा सबैभन्दा बढी पानी पर्दा ठुलो धनजनको क्षति हुन पुग्यो ।
शनिबार ललितपुर महानगरपालिका–१४ नखिपोटमा नख्खु खोलाले ४ जनालाई बगाएको भिडियो सामाजिक सञ्जालमा यत्रतत्र छरियो । त्यहाँ बाढी हेर्न सयौँको संख्यामा पुगे । नख्खु खोलाको किनारमा टहरामा बस्ने उनीहरु खोला बढ्दै गएपछि जस्ताको छानोमा पुगेका उनीहरुलाई हेर्न सयौँ रमिते पुगे । प्रहरी र स्थानीय तहका जनप्रतिनिधि पनि पुगेको त भनियो तर उनीहरुलाई बग्नबाट जोगाउन कोही तम्सिएनन् । बरु धेरैजसो भिडियो बनाएर बसे । र, सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै सरकारलाई गालीको वर्षा गर्न थालियो ।
सोही क्षेत्रमा विगत ५ महिनादेखि बस्दै थिए चनिकलाल । श्रीमती र छोरीसँग बस्दै आइरहेका चनिकलाल घरहरुमा रङ लगाउने काम गर्छन् । सो दिन अर्थात शनिबार पानी परेकाले उनको काम रोकिएको थियो । नख्खु खोलामा बाढी आएको थाहा पाएपछि उनलाई पनि त्यहाँ जाने इच्छा भयो । उनी त्यहाँ पुगे ।
श्रीमतीसँगै बाढी हेर्न पुगेका उनलाई खोलाले मान्छे बगाएर ल्याएको देखेपछि त्यहाँ हामफालेर उद्धार गर्न मन लाग्यो । काभ्रेको सुनकोशीमा पौडिएरै वारीपारी गरिरहेका उनलाई पौडी खेल्नु सामान्य जस्तो लाग्यो । तर उर्लिएर आएको बाढी देखेपछि मान्छेको मन न हो, डराइहाल्छ । तर त्यहाँ बग्दै आएको बच्चा देखेपछि आफ्नो छोरी सम्झिएको र त्यहाँ हाम्फाल्न थप बल पुगेको बीबीसीसँगको कुराकानीमा उनले भनेका छन् । सँगै रहेकी श्रीमतीले त्यहाँ नजान आग्रह गर्दागर्दै बच्चाको मायाले उनलाई भेलमा पस्न आँट दियो, त्यही आँट नै उनको जिन्दगीको ‘टर्निङ पोइन्ट’ बनिदियो । अनि फेरियो घरमा रङ लगाउने चनिकलालको जिन्दगीको परिभाषा र रङ्ग पनि ।
उक्त भिडियो र उनको फोटो सामाजिक सञ्जालमा छाउन थालेपछि उनको प्रशंसा चौतर्फी चुलियो । उनको प्रशंसा मात्रै होइन उनलाई विभिन्न व्यक्तिदेखि संस्थाहरुले बोलाएर सम्मान गर्न थाले । सामान्य जीवनयापन गर्ने उनी त्यो सम्मानलाई आश्चर्य मानेर हेरिरहन्छन् । उनलाई लाग्दो हो, जिन्दगी कहाँबाट कहाँ पुग्यो ?
उनले नाम सुनेका र कहिलेकाहिँ देखेका तर भेट्न नपाएका नेताहरुले आफैँ फोन गरेर सम्मानका लागि बोलाउँदा सपना जस्तै लाग्ने गरेको प्रतिक्रिया दिएका छन् ।
उनको साहसलाई सम्मान गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा बोलाएर सम्मान गरे ।
‘हार्दिक बधाई क. चणिकलाल तामाङ । तपाईंले नख्खु खोला बहावबाट दुई जनाको ज्यान मात्र बचाउनु भएको छैन, मानवीयता पनि बचाउनु भएको छ । आफ्नो जीवनको पर्बाह नगरी अरुको जीवन बचाउने जोखिम उठाउनु भएको छ । सरकार उदासीन भएको ठाउँमा पनि जिम्मेवार नागरिकले आफ्नो कर्तव्य पूरा गर्न सक्छन् भन्ने उदाहरण पेश गर्नु भएको छ । जनयुद्धमा सहोदर दाजु कमरेड चन्द्र लामालाई गुमाउनु भएका चणिकलाल तामाङले देश र जनताको लागि आफूलाई समर्पण गर्ने सहिदको भावनाबाट प्रेरित हुदै साहसी युवाको रुपमा परिचित गराउनु भएको छ । तपाईंको आगामी जीवन सामाजिक क्षेत्रमा अझ योगदान गर्न सफल होस भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रचण्डसँगको भेटमा उनले आफूले ती बालिकासहित अर्का व्यक्तिलाई बचाउँदा गरेको साहसिक कामको बेलिबिस्तार लगाए ।
त्यति मात्र होइन उनलाई विभिन्न दलका विभिन्न नेताहरुले आफ्नै निवासमा बोलाएर सम्मान गरेका छन् ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो निवास इटालीटारमा बोलाएर चनिकलाललाई सम्मान गरे । आफ्नो बुबाआमाको नाममा खोलिएको यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्टको तर्फबाट अर्जुननरसिंह केसी, जगदिश्वर नरसिंह केसी
सोमबार चनिकलाललाई कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समेत सम्मान गरे । सिंहदरबारस्थित मन्त्रालयमा नै बोलाएर सोमबार चनिकलाललाई सम्मान गर्दै उनको प्रशंसा गरे ।
‘चनिकलालजीको साहसको सम्मान गर्दछु । अविरल वर्षापछि आएको बाढीमा नख्खु खोलामा बगिरहेका नागरिकको जीवन रक्षाका लागि आफ्नो ज्यानको बाजी लगाएर उद्धारमा खटिनुहुने चणिकलाल तामाङजीको साहसको उच्च सम्मान गर्दछु । तपाईंले देखाउनुभएको मानवीय भावना र साहस सदा स्मरणीय रहनेछ । तपाईले राख्नुभएको चाहनाअनुसार सरकार राहत, उद्धार र घाइतेको उपचारमा जुटिसकेको छ । यो विपद्को घडीमा सरकारलाई आम नागरिक समाजका सबै तहतप्काको पनि साथ जरुरी छ । एकताबद्ध हुँदै सबै मिलेर विपद्को सामना गरौं । सरकार राहत, उद्दार र घाइतेको उपचारमा केन्द्रित छ । नागरिकको जीवन रक्षाका लागि कुनै कसर बाँकी राख्नेछैन,’ सिंहले सामाजिक सञ्जालमा लेखेका छन् ।
सिंहले आफूहरुले पीडितहरुको उद्धार र राहतका लागि कुनै कसर बाँकी नरहेको बताउँदै गर्दा चनिकलालले भने सरकारको राम्रो ध्यान नगएको टिप्पणी गरेका थिए । साथै सिंहले सरकारले घाइतेहरुको उपचारका लागि कुनै कसर बाँकी नराख्ने भन्दै चनिकलालाई उद्धार र उपचार हुन बाँकी रहेकाहरुसम्म सम्पर्क गराइदिन समेत आग्रह गरे ।
त्यसो त बागमती प्रदेश सरकारले समेत उनलाई १ लाख ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने तयारी गरेको छ । साथै विभिन्न दलका नेता कार्यकर्ताहरुले सहयोगसहित सम्मान गरिरहेका छन् । महालक्ष्मी विकास बैंकले उनलाई एक लाख रुपैयाँसहित सम्मान गरेको छ । सम्मान र सहयोगको काम केही दिन नै रहनेछ ।
राज्यबाट हुनुपर्ने काम चनिकलाले जुन साहसका साथ गरे त्यो प्रशंसायोग्य छ । कर्मले खारिएका र भाग्य भन्दा कर्ममा विश्वास गर्ने चनिकलालले केही समय अघि सामाजिक सञ्जालमा फेसबुकमा लेखेका रहेछन्, ‘जिन्दगीको गन्तव्य कहाँसम्म पुग्छ थाहा छैन । रहरले त धेरै कुरा चुम्न मन लाग्छ । तर संघर्षले पुग्ला या नपुग्ला त्यो आफूमा भर पर्छ ।’
२ दिन परेको अविरल वर्षाले हाम्रो हाम्रो दुई तिहाइ सरकारको नालायकीपन उजागर भयो नै त्यो भन्दा धेरै जिम्मेवार चनिकलालहरुले आफ्नो शाहस देखाउने मौका पाए । पीडितको उद्धारमा चोकचोकमा चनिकलालहरु हाजिर भइरहँदा नख्खुमा बगेका नागरिक भिडियोमा हेरेको सरकारले तीनिहरुको आश नै मारिसकेको थियो । मौसम पूर्वानुमान अनुसार केही दिन पानी पर्ने संकेत गर्दा पनि हाम्रो राज्य संयन्त्र वर्षापछिको बैठक र निर्देशन कुरेर बस्दै थियो । गृहमन्त्री रमेश लेखकले त उनीहरुको उद्धार भइसक्दा पनि जीवित बचाउन नसकेकोमा आशु बगाइसकेका थिए । कार्यवाहक प्रधानमन्त्रीदेखि सिंगो राज्य संयन्त्र उही पुरानै शैलीमा हामीले तयारी गर्न सकेनौँ भनेर रोएर बस्दै गर्दा देशभरका हजारौँ चनिकलालहरुले आफ्नो ज्यानको बाजी लगाएर पीडितको उद्धारमा लागे ।
दुःखलाई साथी बनाएका चनिकलालले आजसम्म रहरले धेरै कुरा चुमेका थिए, संघर्ष पनि गरेका थिए तर पूरा गर्न नसकेका स–साना रहरहरु अबको जीवनमा पूरा गरुन् हाम्रो पनि शुभकामना ।
अन्त्यमा, सरकार र राज्यका संयन्त्रले एउटा चनिकलाललाई बोलाएर खादा माला र सम्मान गर्ने मात्र होइन, विपद्को जोखिम रहेको हाम्रो जस्तो देशमा विपद्सँग जुध्ने हजारौँ लाखौँ चनिकलालहरु जन्माउन प्रयास पनि गरोस् सुझाव पनि ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया