ललितपुरमा थप ६ जनाको शव भेटियो, १० अझै बेपत्ता

लोकपथ
56
Shares

ललितपुर ।  वर्षाजन्य विपद्मा परी ललितपुरबाट बेपत्ता भएका मध्ये थप ६ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म ६ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो ।  

फेला परेका शवमध्ये १७ जनाको शव पोस्टमार्टम भई आफन्तले बुझेर लगेको अधिकारीले जानकारी दिए । ‘पाटन अस्पतालमा आएका शवमध्ये १७ जनाको शव पोस्टमार्टम भई आफन्तले बुझेर लैजानुभएको छ, अरू फेला परेका शवलाई प्रहरीको सहयोग र समन्वयमा पोस्टमार्टमका लागि पाटन ल्याउने काम भइरहेको छ, ’उनले भने ।

नेपाल प्रहरीले आज बिहान अद्यावधिक गरेको तथ्याङ्कअनुसार महांकाल गाउँपालिका-२ मानिखेल लक्ष्यबास बस्ने वर्ष ९ का आयुष स्याङ्तान, महांकाल–२ ठोस्ने खोला बस्ने एकै परिवारका ४० वर्षीया राममाया स्याङ्तान, निजका छोरा १४ वर्षीय अजय स्याङ्तान, अर्का छोरा ११ वर्षीय सुवास स्याङ्तान र छोरी ९ वर्षीया सलिना स्याङ्तानको शव फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार वर्षाजन्य विपदमा परेर अझै १० जना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार महांकालल–३ गोटीखेल बस्ने इश्वर तिमल्सिना, उनकी आमा र श्रीमती गोमा असोज १२ गतेबाट बेपत्ता छन् ।

त्यस्तै रौतहट घर भई ललितपुर महानगरपालिका–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने ५ वर्षीया सेतु साह, ओखलढुङगा घर भई ललितपुर बस्ने ४० वर्षीय देवराज कार्की, रौतहट गौर गाउँपालिका वडा नं ६ घर भई ललितपुर–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने ३२वर्षीय बिकाउ साह बेपत्ता छन् ।

गोदावरी नगरपालिका–६ आनन्दवन अस्पतालमा काम गरी बस्ने ३० वर्षीय विवेक सिंह, बागमती गाउँपालिका–१ घुसेलका ५० वर्षीय केशव न्यौपाने, महांकाल वडा नं २ बस्ने  १२ वर्षीया सञ्जिता स्याङ्तान, ३५ वर्षीय छविलाल स्याङ्तान र छविलालकी भाउजु (नाम नखुलेको) बेपत्ता छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?