पूर्वबाट फेरि मौसम बदली सुरु, बाढीपहिरोको सम्भावना

लोकपथ
1.5k
Shares

काठमाडौं । ठुलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आज मंगलबारदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेस प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।

मौसमविद् प्रतिभा मानन्धरले भनिन् ‘बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेस, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।’
यो असर भोलि र पर्सिसम्मै रहने जनाइएको छ । तर ठुलो अनि लगातारको वर्षा भने नहुने उनले बताइन् ।

तर यसअघिको वर्षाले देशका सबै भू-भाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले बताइन् ।

आज राति कोशीलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ । असोज १६ गते कोशी, मधेस प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ ।

असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?