सातै प्रदेशमा मुटु रोगको उपचार विस्तार गर्ने निर्णय

लोकपथ
49
Shares

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने घोषणा गरेको छ । 

केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बागमती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने घोषणा गरेको हो । अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ ।

बैठकमा बोल्दै मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरूमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजना अन्तर्गत क्यान्सर उपचार सुरु भैइसकेको भन्दै मुटु रोगको उपचारसमेत विस्तारको निर्णय गर्न प्रस्ताव गरेका थिए ।

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा विशिष्टिकृत उपचार सेवा प्रादेशिक अस्पतालहरूमार्फत विस्तार गर्ने घोषणा गरेका थिए । मन्त्रालयले हालै मात्र अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै श्रोतमा निःशुल्क रूपमा सञ्चालन गर्ने तयारी अघि बढाएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?