विकल दम्पतीविरुद्ध झण्डै दुई अर्ब मागदाबीसहित मुद्दा दायर

श्रीमान साढे ४ महिनादेखि जेलमा, श्रीमती फरारको सूचीमा

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्र बैंकको स्विकृतिबिना विदेशी बैंकमा रकम जम्मा गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार मागदाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

यस्तै, पौडेलकी श्रीमती एलिना बस्नेतविरुद्ध ४ करोड ५८ लाख १२ हजार रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरिएको छ । उनीमाथि विदेशी मुद्रा अपचलनमा सहयोगीको भूमिका निर्वाह गरेको आरोप रहेको छ ।

गत जेठमा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएर जेल जीवन व्यतित गरिरहेका केन्द्रका पूर्व कार्यकारी निर्देशक पौडेलविरुद्ध विभागले विदेशी मुद्रा अपचलनसम्बन्धी अर्को मुद्दा दायर गरेको हो ।

सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक रहेका बेला सेक्युरिटी प्रिन्टिङ खरिद र व्यवस्थापनका सिलसिलामा अवैध रुपमा सम्पत्ति कमाएको अभियोगमा पौडेललाई विशेष अदालतले गत जेठमा २ वर्ष कैद र २५ करोड जरिवाना ठहर गरेको थियो ।

पौडेल दम्पतीविरुद्ध १ अर्ब ८७ करोड ९७ लाख मागदाबीसहित हिजो मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनकी श्रीमतीलाई भने फरारको सूचीमा राखिएको छ ।

पौडलमाथि विदेशी मुद्रा अपचलन गरी कारोबार गरेको विदेशी मुद्रा (युएसडी र एसडिजीसमेत) जम्मा हुन आउने नेपाली रुपैयाँ ६१ करोड १३ लाख अपचलन भएको पुष्टि भएको छ । विदेशी विनिमय नियमित गर्ने ऐन बमोजिम उनको बिगो रकममा तीन गुणा थप गरी मुद्दा दायर भएको हो ।

पौडेलकी श्रीमती बस्नेतले राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रको उल्लंघन गरेको भन्दै अमेरिकी डलर १ लाख २९ हजार अर्थात् नेपाली रुपैयाँ १ करोड ५२ लाख ७० हजार ४ सय ७० कायम गरिएको छ । ऐनमा उल्लेख भएअनुसार बिगो र जरिवानासहित कायम गरिएको ४ करोड ५८ लाख १२ हजार दाबी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?