काठमाडौं । सहकारी ठगी प्रकरणमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ ।
सोह्र महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले भारतमा पक्राउ गरी शनिबार नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार पेस गरिएको थियो ।
इजालस अधिृकत ऋषिराम रिजालका अनुसार नेपालीको बयान सोमबार नै सकिएको थियो । मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको रिजालको भनाइ छ ।
भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार मात्रै बागलुङ लगिएको थियो ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।
सहकारीका बचतकर्ताको दुई अर्ब बचत रकम हिनामिना गरी २०८० जेठ ५ मा बुर्तिबाङ बजारबाट उनी परिवारसहित फरार भएका थिए ।
उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया