काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्यका दिन आज समापन गर्न लागिएको हो ।
आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाका बुबा)को श्राद्ध भने बिहीबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भन्ने गरिएको हो ।
पितृ पक्षको अन्तिम दिन आज आमावास्य अर्थात् औँसी तिथिको श्राद्ध गरिन्छ । कुनै कारणले यो पक्षका अरू तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । कुनै कारणले रोकिएर आज पनि श्राद्ध गर्न नसकेमा आपत् धर्म अनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म मिल्ने शास्त्रीय वचन रहेको उनले जानकारी दिए ।
यो समयमा पनि सोह्र श्राद्ध गर्न नसकिएमा कात्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कात्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक संक्रान्ति अर्थात् मंसिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए ।
आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएका सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईको भनाइ छ। त्यसपछि पनि सोह्र श्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ, नसक्नेले ब्राह्मणमार्फत् वैदिक मन्त्रले दैनिक एक सय आठ जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया