काठमाडौं । १ लाख धरौटी तिरेर हिरासत मुक्त भएपछि व्यवसायी दुर्गा प्रसाईँले दिएको अभिव्यक्तिमा जाहेरीकर्ता ज्वाला संग्रौलाले आपत्ति जनाएकी छन् ।
प्रसाईँले आफ्ना कार्यकर्तामाझ केपी ओली र प्रचण्डले ‘केटी अघि सारेर’ आफूलाई जेल हालेको दाबी गरेका थिए । सोही अभिव्यक्ति प्रति संग्रौलाले कटाक्ष गर्दै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेकी हुन् ।
प्रहरीको साइबर ब्युरोले महिलाको चरित्र हत्या गरेको आरोपमा उनलाई असोज ६ गते भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।
प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।
संग्रौलाले दिएको उजुरीका आधारमा नै प्रसाईँ पक्राउ परेका थिए ।
उनको स्टाटस यस्तो छः
दुर्गा प्रसाई ज्यु , तपाई महिलाको चरित्र हत्या गरेर १० दिन हिरासत बस्नु परेको हो। निस्कदा आत्मसमिक्षा गरेर सुध्रेर आउनु हुन्छ, बोलिमा लगाम लगाउनु हुन्छ र नागरिक हरुलाई भ्रमित पार्न छोड्नु हुन्छ भनेर मानिस हरुले अपेक्षा गरे बिपरित तपाईं त नालापानीको युद्द जिते जसरी छाती फुलाएर फेरि धारे हात लाउदै महिलालाई किचकन्या प्रयोग गरेर मलाई फसाए भन्दै उल्टै कुर्लदै हुनुहुदो रहेछ। पिडित महिलाले निवेदन दिएर हिरासत गएको मान्छे, फेरि बाहिर निस्केर रुखमुनी सोझासाझा जनता भेला पारेर थपडी बजाउन लगाएर कस्लाई किचकन्या भन्दै हुनुहुन्छ? स्मरण रहोस, तपाईको मुद्दा सकिएको छैन। तपाईं १ लाख धरौटीमा छुट्नु भएको छ। सेतो बाघ आयो है भन्दै आफूलाई फेसबुके बाघ नबनाउनु होला! त्यो किचकन्या शब्द किन र कस्लाई प्रयोग गरेको हो, यस्को जबाफ चाडोभन्दा चाडो दिनुहोला। तपाईले जे बोलेपनी कानुनले छाडा छोड्नु पर्ने हो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया