काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएका छन् ।
त्यसैगरी राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि एक साताको तलवसुविधा सो कोषमा प्रदान गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो लगायत विपत्तिमा परी हालसम्म २३२ जना नेपाली नागरिकको मृत्यु भएको छ ।
बाढीपहिरो प्रभावितहरुको उद्धार तथा राहतका लागि सरकारले सरकारी कोष खडा गरी सहयोग रकम उठाइरहेको छ ।
कति हुन्छ राष्ट्रपतिको तलब ?
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को व्यवस्थाअनुसार बहालवाला राष्ट्रपतिले पारिश्रमिक बापत प्रतिमहिना १ लाख ५० हजार ४ सय ५० रूपैयाँ पाउँछन् ।
राष्ट्रपतिका लागि पोसाक भत्ता वार्षिक २५ हजार रूपैयाँ दिने व्यवस्था हुन्छ। उपराष्ट्रपतिले भने मासिक पारिश्रमकि १ लाख ८ हजार ३० रूपैयाँ तथा पोसाकका हकमा वार्षिक २० हजार भत्ता बुझ्ने गर्छन् ।
राष्ट्रपतिलाई मासिक पारिश्रमिक बराबर अतिरिक्त रकम दिने व्यवस्था पनि गरिएको छ । उक्त रकम भने अतिथि सत्कार तथा भैपरि आउने खर्च शीर्षकअन्तर्गत छुट्याइन्छ । राष्ट्रपति तथा उपराष्ट्रपतिले स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको खर्च नेपाल सरकारले बेहोर्ने व्यवस्था ऐनमा उल्लेख छ ।
जसअनुसार राष्ट्रपति अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नुपर्ने भए त्यसबापत तीन जनासम्मको खर्च नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था ऐनमा गरिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको उपचार खर्चबापतको रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति भर्ना भएको अस्पताललाई भुक्तानी गर्ने व्यवस्था ऐनमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया