बार अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दायर अदालतको अवहेलना मुद्दा फिर्ताको घोषणा

लोकपथ
70
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा फिर्ता हुने भएको छ । रिट निवेदक रहेका सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले सामाजिक सञ्जालमार्फत त्यसको जानकारी दिएका हुन् ।

बिहीबार बिहान करिब १ बजे सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै उपरजिस्ट्रार घिमिरेले अदालत खुल्ने बित्तिकै अदालतको अवहेलनामा आफूले दिएको प्रतिवेदन फिर्ता लिने जानकारी गराएका हुन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनका आधारमा सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गरेको आरोप लगाएका थिए ।

घिमिरेको उक्त भनाइले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द प्रसाद घिमिरेले प्रतिवेदन तयार पारी अदालतको अवहेलनामा बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा सोमबार मुद्दा दायर गरेका थिए ।

घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएपछि बार र बेन्चबिच तनावसमेत बढेको थियो । व्यक्तिगतरूपमा उपरजिस्ट्रार घिमिरेमाथि पनि दबाब बढ्दै गएपछि बुधवार साँझ पनि उपरजिस्ट्रार घिमिरेले ‘३६४ दिन आज्ञापालक कुकुर बनियो, एक दिन स्वतन्त्र हुन चाहन्छु’ भनी पोष्ट गरेका थिए ।

घिमिरेको पोष्टबाट उनले सर्वोच्च अदालत प्रशासन वा न्यायाधीशको दबाबकै कारण अवहेलनाको प्रतिवेदन तयार पारी मुद्दा दायर गर्न बाध्य भएको सङ्केत गरेका थिए ।

पहिलो पोष्ट गरेको करिब ४ घण्टापछि बिहीबार बिहान (राती) करिब १ बजे अर्को पोष्ट गर्दै अवहेलना मुद्दा दायर गर्नुपरेकै कारण आफू २ दिनदेखि निदाउन नसकेको र अरूको प्यादा नबन्ने भन्दै मुद्दा फिर्ता लिने घोषणा गरेका हुन् ।

उपरजिस्ट्रार घिमिरेले आफ्नो स्ट्याटसमा भनेका छन्,
‘म हिजो देखी निदाउन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैँ यसकै लडाई लड्नु भयो । बार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु । अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?