बिवाइडीको डल्फिन कारमा आगलागीको खतरा, बजारबाट करिब एक लाख कार फिर्ता मगायो

लोकपथ
217
Shares

काठमाडौं । चीनको ईभी कार निर्माता कम्पनी बिवाइडीले आफ्ना सवारीसाधनमा आगलागीको खतरा पाएपछि करिब एक लाख कार बजारबाट फिर्ता लैजाने भएको छ ।

बिवाइडीले स्टेरिङमा समस्या रहेको र आगलागीको खतरा देखिएको भन्दै डल्फिन र युआन प्लस कार फिर्ता लिन लागेको हो ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचार अनुसार बिवाइडीको डल्फिन र युआन प्लस कारमा आगलागी हुने समस्या देखिएको हो । कारमा उत्पादनकै समयमा समस्या रहेको भेटिएपछि कम्पनीले नै बजारबाट करिब एक लाख कार फिर्ता लैजान लागेको हो ।

बिवाइडीले सोमबार एक विज्ञप्ति जारी गर्दै ९६ हजार ७१४ थान डल्फिन र युआन प्लस मोडेलका इभी कार बजारबाट फिर्ता लिने बताएको हो । चिनमा बजार अनुगमन गर्ने संस्था स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसनको निर्देशनपछि बिवाइडीले बजारबाट कार फिर्ता लैजान लागेको हो ।

बिवाइडीका अनुसार उसले उत्पादन गरेकामध्ये नोभेम्बर २०२२ देखि डिसेम्बर २०२३ मा बनेका ८७ हजार ७६२ थान डल्फिन कारमा गम्भीर समस्या देखिएको छ । गुड्दागुड्दैको कारका आगो लाग्न सक्ने खतरा देखिएको भन्दै उसले ती सबै कार फिर्ता लैजाने बताएको हो ।

चिनको बजार अनुगमन गर्ने संस्था स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसनका अनुसार डल्फिन र युआन प्लस कारको इलेक्ट्रिक पावर स्टेरिङ कन्ट्रोलरमा गम्भीर समस्या देखिएको हो । पावर स्टेरिङ मापदण्ड अनुसार नभएको र त्यसका कारण कार चलाउँदै गर्दा स्टेरिङमा घर्षणका कारण दरार पैदा हुने र त्यसबाट क्यापासिटरमा सर्ट सर्किट भई आगलागीको खतरा रहेको बताइएको छ ।

बिवाइडीले बजारबाट फिर्ता लिने भनिएको डल्फिन गाडी नेपाल लगायतका देशमा लोकप्रिय र चर्चित ब्रान्ड हो । नेपालमा अट्टो थ्री र डल्फिन कार बढी बिक्री हुने गरेको छ । तर उक्त कारको उत्पादनमै समस्या रहेको र त्यसले आगलागी गराउन सक्ने खतरा देखिएपछि कम्पनीले नै फिर्ता लैजान लागेको हो ।

बिवाइडीले आफ्नो उत्पादनमै गम्भीर त्रुटि रहेको भन्दै बजारबाट कार फिर्ता लैजान लागेपछि त्यसको असर नेपालसम्म पर्ने निश्चित छ । नेपालमा पनि धेरै विक्री भएको विद्युतीय कारमा बिवाइडीको डल्फिन समेत हो ।

नेपालमा बिवाइडी कारको आधिकारिक विक्रेता साइमेक्स नेपाल रहेको छ । बिवाइडी कम्पनीले उक्त समयमा बनाइएका कार फिर्ता लिने घोषणा गरिसकेको भए पनि नेपालमा भने बिवाइडीको आधिकारिक बिक्रेताले यस सम्बन्धमा केही बताइसकेका छैनन् ।

कम्पनीका सीईओ शाहिल श्रेष्ठलाई सम्पर्क गर्दा उनले उक्त निर्णय चिनको आन्तरिक बजारका लागि मात्रै रहेको र अन्तर्राष्ट्रिय बजारमा कुनै फरक नपर्ने बताएका छन् । यद्यपि नेपाली बजारमा विक्री भएको कारमा किन फरक नपर्ने हो भन्ने सम्बन्धमा पनि केही बताएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?