घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य मन्त्री पौडेल वीर अस्पतालमा

लोकपथ
35
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी तथा पहिरो लगायतका विपद्मा घाइते भई उपचाररत रहेकाहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । 

बिहीबार वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर स्वास्थ्य मन्त्री पौडेलले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

अवलोकन पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अहिले ट्रमा सेन्टरमा ९ जना घाइतेहरू उपचाररत रहेको मा सबैको अवस्था साधारण नै रहेको बताए ।

अझै पनि उपचार आवश्यक रहेका  नागरिकहरू छुटेमा उपचारका लागि अस्पताल आउन आग्रह गर्दे उनले घाइतेहरूको उपचार कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालय लागि परेको बताए । 

उनले भने, ‘धेरै त डिस्चार्ज भएर गइसक्नु भएको छ अहिले यहाँ ९ जना बिरामीहरू जसमा तीन जना इमरजेन्सीमा र ६ जना वार्डमा हुनुहुन्छ । उहाँहरूको राम्रो उपचार भइरहेको छ । आज दुई जना डिस्चार्ज हुँदै हुनुन्छ । घाइतेहरूलाई पनि बुझे उहाँहरू सन्तुष्ट हुनुहुन्छ । अझै पनि हामीले उपचार आवश्यक हुनुभएका नागरिकहरू हुनुहुन्छ भने उपचारका लागि अस्पताल आउन आग्रह गरेका छौँ । हामीले बाढी पहिरो लगायतका विपद्मा घाइतेहरूको उपचार कसरी व्यवस्थित गर्न सक्छौँ भनेर लागि परिरहेका छौँ ।’

उनले निजी अस्पतालहरूलाई पनि विपद्मा परि घाइते भएकाहरूको निःशुल्क उपचारको लागि सहयोग गर्न अनुरोध गरेको भन्दै उपचार नपाएर समस्यामा पर्ने स्थित नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?