काठमाडौं । अध्ययन वा कामका लागि जापान जाने नेपाली नागरिकका लागि काठमाडौंमा व्यवसायिक तालिम केन्द्र सञ्चालनमा आएको छ । जापान पुगेपछि कामका लागि समस्या नहोस् भनेर नेपालमै स्किल्ड म्यानपावर तयार गर्न कलेज सञ्चालनमा आएको हो ।
नेपाल सरकारले जिटुजीमा रही एसएसडब्लु (स्पेसीफाइड स्किल्ड वर्कर) पठाउँदा आवश्यक तालिम दिने उद्धेश्यले जापानी संस्थासँगको सहकार्यमा भोकेसनल कलेज स्थापना भएको हो । बिहीबार काठमाडौंको धुम्बाराहीमा तोकुतेइ गिनोउ इकुसेइ ट्रेनिङ एण्ड भोकेसनल कलेज स्थापना भएको हो । जापान दातृ नियोग (जाइका)का चिफ रिप्रिजेन्टेटिभ मासुजाकी मिजुकीले बिहीबार कलेजको उद्घाटन गरिएको हो ।
विद्यार्थी भिसा तथा कामदार भिसामा जापान जानेहरुका लागि भाषासहित सीप सिकाएर दक्ष बनाएर मात्रै जापान पठाउने उदेश्यले तोकुतेइ गिनोउ इकुसेइ ट्रेनिङ एण्ड भोकेसनल कलेजको सुरुवात गरिएको सञ्चालकमध्येका एक महेश श्रेष्ठले बताए ।
‘अहिले विद्यार्थी तथा कामदार भिसामा जापान जानेहरुको संख्या बढिरहेको छ । तर राम्रो भाषा र सीप नहुँदा त्यहाँ पुगेर नेपालीहरु समस्यामा परिरहेका पनि छन् । त्यसकारण हामीले भाषा, सीप लगायत जापानका लागि आवश्यक सम्पूर्ण तालिम परामर्श दिनेछौँ,’ उनले भने ।
उनका अनुसार कुन कामका लागि जापान जान लागेको हो त्यसका लागि आवश्यक ज्ञान र सीप दिने उद्धेश्यले कलेजको स्थापना गरिएको हो ।
विभिन्न कन्सल्टेन्सीमा आवद्ध व्यक्तिहरु मिलेर तोकुतेइ गिनोउ इकुसेइ ट्रेनिङ एण्ड भोकेसनल कलेज सञ्चालनमा ल्याइएको श्रेष्ठले जानकारी दिए । यसमा जापानी कम्पनी एसियन युनिटीको समेत सहकार्य रहेको छ ।
एसियन युनिटी जापानमा विभिन्न देशबाट दक्ष कामदार लैजानका लागि सम्बन्धित देशमा तालिम दिने एक कम्पनी हो । सोही कम्पनीसँग समन्वय गरेर कलेज स्थापना गरिएको हो ।
नेपाल सरकार र जापान सरकारबीच सन् २०१७ मा जापानमा दक्ष कामदार अर्थात् एसएसडब्लु (स्पेसिफाइड स्किल्ड वर्कर) लैजाने भनी दुइपक्षीय सम्झौता भएको थियो । जिटुजीमा आधारित रही दक्ष कामदार लैजाने भनिएपनि नेपालमा त्यसका लागि भोकेसनल कलेज स्थापना भएको थिएन । भाषाका लागि विभिन्न कलेजहरु स्थापना भएको भएपनि दक्ष कामदार उत्पादन गर्न आधिकारिक ट्रेनिङ सेन्टर भने थिएन । दक्ष कामदारको विवरणसहितको तथ्यांक राख्ने गरी कलेजको स्थापना गरिएको सञ्चालक श्रेष्ठले बताए ।
नेपाल सरकार र जापान सरकारबीच एसएसडब्लुका लागि केयर गिभर, कन्सट्रक्सन, कृषि, फुड सप्लाई र प्याकेजिङ लगायतका १२ विधामा कामदार पठाउने सहमति भएको थियो । त्यसका लागि भाषा परीक्षा उत्र्तीर्ण गरेकाहरुले आँफै कम्पनी खोजी गर्नुपर्ने व्यवस्था छ । जापानबाटै कम्पनीले कामदार खोजेको अवस्थामा एकीकृत तथ्यांक नहुँदा समस्या भएको भन्दै अब तथ्यांकसहित दक्ष कामदारको उपलब्धताबारे जानकारी दिन कलेज सञ्चालनमा आएको हो ।
६ महिनाको समयमा भाषासहित सीप सिकाउने गरी कलेजको स्थापना भएको हो । कलेजमा श्रेष्ठसहित रमेश देवकोटा, राजेन्द्र केसी, अर्जुन पाण्डे र अमृता खड्गी सञ्चालक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया