कोशीको बाढी : कसैलाई डर, कसैलाई अवसर

लोकपथ
0
Shares
फाइल तस्बिर

सुनसरी । केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो । राजधानी काठमाडौंलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठुलो विपत्ति निम्त्यायो । सयौँले ज्यान गुमाए भने अर्बौँको  क्षति भयो । यस पटकको भीषण वर्षाले कोशी प्रदेशमा पनि ठुलो क्षति पुगेको छ । कोशीसहित विभिन्न नदीमा आएको बाढीले धेरैको उठिबास लगायो । कति पुल भत्किए, कति बस्ती उजाडिए । तर, नदी किनारक्षेत्रका केही सर्वसाधारणलाई भने कोशीमा आएको बाढी अवसर पनि बनेको छ ।

बराहक्षेत्र नगरपालिका–६ का वीरवल माझी कोशी नदीबाट दाउरा झिकेर परिवारको गर्जो टार्नुहुन्छ ।  उनले वर्षायामको बेला वर्षभरि पुग्ने दाउरा कोशीबाट संकलन गर्दै आएका थिए । संकलित दाउरा आफूले बाल्ने र धेरै भएमा बेचेर गुजारा चलाउने उनको पुरानै पेसा हो । यस पटकको बाढीले धेरै दाउरा बगाएर ल्याएपछि एक वर्षलाई पुग्ने गरी जोहो गरेको उनले बताए । 

‘यो वर्ष मनसुन सकिने बेलामा बाढी आयो । घर अलि पर भएकाले केही क्षति हुन पाएन, ’माझीले भने, ‘यस पटकको जस्तो बाढी कोशीमा आएको मैले अहिलेसम्म देखेको थिइँन । दाउरा पनि धेरै ल्यायो ।’ तीन दिनको भारी वर्षाका कारण आएको बाढीले अहिले बराह क्षेत्रका धेरैजना दाउरा संकलनमा व्यस्त छन् । 

माझीजस्तै मजदुरी गर्ने अधिकांश दसैँ खर्च जुटाउन रातदिन नभनी दाउरा संकलन गरिरहेका छन् । चतराको कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन् ।  नदीको भेलले बगाएर ल्याएको दाउरा संकलन गरेर जीविका चलाउनेको दैनिकी यति बेला कोशी बगरमा बितेको छ । बाढीले किनाराका बासिन्दा त्रसित बने पनि माझीजस्ता कतिपयका लागि अवसर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?