अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै

लोकपथ
189
Shares
फाइल तस्बिर

बागमती । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटौँडा–काठमाडौं जोड्ने खण्डअन्तर्गतका सडक यथाशीघ्र सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा पहिरो पन्छाउने काम भइरहेको छ ।

चाडपर्वमा आवागमन सहज बनाउने उद्देश्यले अवरुद्ध भएका सबै सडक सञ्चालनमा ल्याउन सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीले तीव्रताका साथ पहिरो पन्छाउने काम गरिरहेको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।

उनका अनुसार हेटौँडा–काठमाडौं जोड्ने सडकमध्ये हेटौँडा–भैँसे–रातोमाटे खण्डअन्तर्गत गोल्पिङबेँसीमा ठूलाठूला ढंगासहित खसेको पहिरो पन्छाउन चारवटा उपकरणसहित काम भइरहेको छ । यही असोज ११ र १२ गतेको वर्षाले खसेको पहिरो पन्छाएर सो सडक मंगलबार सञ्चालन आएकामा केही समयपछि पुनः पहिरो खसेपछि अवरुद्ध भएको प्रजिअ चिलुवालले बताए।

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलासम्मको पहिरो पन्छाइसकिएको जनाउँदै प्रजिअ चिलुवालले इन्द्रसरोवर–२ स्थित बाढीले बगाएको कुलेखानी पुल तीव्रताका साथ निर्माण जानकारी दिए ।

दक्षिणकाली–फर्पिङ खण्डअन्तर्गत महालक्ष्मी खोलाबाट पाकेलसम्म र पाकेलबाट फर्पिङसम्मको पहिरो पन्छाउन दुईवटा जेसिबीसहित प्रहरीको टोली परिचालन गरिएको भन्दै प्रजिअ चिलुवालले महालक्ष्मीखोलाको पुल छेउमा बाढीले बगाएको सडक पुनःनिर्माण भइरहेको उल्लेख गरे । बाढीले महालक्ष्मी खोलाको पुलको छेउमा करिब एक सय ५० मिटर सडक बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?