बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३९ पुग्यो, १९ जना अझै बेपत्ता

लोकपथ
77
Shares
फाइल तस्बिर

काठमाडौं । यही असोज ११ र १२ गतेको बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीकाअनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार गरिएको भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

बाढी पहिरोपछि क्षतिग्रस्त बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैंअघि सञ्चालनमा ल्याउन कठिन हुने जनाइसकेको छ । यद्यपि, स्थानीय तह पनि सो राजमार्ग खुलाउन लागिपरेको छ ।

यसैगरी राजधानी काठमाडौंलाई अन्य जिल्लाहरुसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ ।

यातायातका साधन सहज रुपमा सञ्चालनका लागि वैकल्पिक सडक बनाउने र खाल्डाखुल्डी पुर्ने काम जारी छ । सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता तिवारीले बताए ।

बाढी पहिरोमा परी ४ हजार ६६७ घरहरु पूर्णरुपमा क्षति पुगेको छ । आंशिक क्षति पुगेका घरहरुको संख्या भने ५ हजार ३१० छ । १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?