नेपालमा संघीयता बुझेको एउटा पनि नेता छैनन् : डा. अच्युत वाग्ले

लोकपथ
21
Shares

काठमाडौं । संघीयता विज्ञ डा.अच्युत वाग्लेले नेपालका कुनै पनि राजनीतिक दलमा संघीयता बुझेका एक जना पनि नेता नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डा वाग्ले नेपालको संविधानमा समन्वयात्मक संघीयता उल्लेख गरिएको भए पनि त्यस्तो ‘छेस्को’समेत लागु नभएको बताएका हुन् । संघीयताका विषयमा व्यापक छलफल गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘कुनै पनि राजनीतिक दलमा संघीयता भनेको के हो भनेर राम्रोसँग जानकारी भएको मान्छे एक जना पनि छैनन् । कोहीभए देखाइदिनुस् न मलाई । हाम्रो संविधानमा तीनै तहको सरकारलाई कोअपरेटिभ फेडेरेलिज्म भनेको छ । त्यो भनेको हामीले अभ्यास गरिरहेका छौँ त्योभन्दा विल्कुलै फरक विषय हो । हामी कहाँ त समन्वयात्मक संघीयताको छेस्को पनि छैन । यस विषयमा कहीँ पनि बहस भएको छैन । राजनीतिक दलको घोषणापत्रमा बहस भयो कि ? पार्टीको बैठकमा बहस भयो ?’

स्थानीय तहहरुलाई अधिकारपूर्ण बनाएर सोहीअनुसारको काम कारबाही प्रदान गर्नुपर्ने वाग्लेले बताए । त्यस्तै, उनले सामाजिक सुरक्षा वितरण अस्वाभाविक भएको उल्लेख गरे ।

मान्छेको आर्थिक हैसियतको आधारमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘सामाजिक सुरक्षाको केही हक स्थानीय सरकारलाई पनि दिर्नुपर्छ । खरो रूपमा भन्ने गरेको छु–अर्बपतिले सामाजिक सुरक्षा उही पाउने अनि सुकुम्वासीले पनि उही पाउने भयो क्या । मलाई तीन हजार चाहिन्थ्यो होला । सुकुम्वासीका मानिसलाई ६ हजार आवश्यक पर्थ्यो होला । अर्बपतिलाई एक हजार भए पनि हुन्छ । न्यायोचित हुनुपर्दछ नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?