चाइना तिब्बतको गुड विल फाउन्डेसनद्वारा बाढीपीडितलाई राहत प्रदान

लोकपथ
0
Shares

काठमाडौं । चीनको तिब्बत स्वायत्त प्रदेशमा सक्रिय गुड विल फाउण्डेशन (जीडब्लुएफ)ले नेपालका बाढीपीडितहरुलाई राहत सामाग्री सहयोग गरेको छ ।

चिनियाँ गैरसरकारी संस्था गुडविल फाउन्डेसनले आज बागमती नदीमा हालै आएको बाढीबाट प्रभावित बासिन्दालाई सहयोग गरेको हो ।

फाउन्डेसनले चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सीआरडीएफ) को सहयोगमा यी राहत सामाग्री वितरण गरेको हो ।

‘चुनौतीहरूको सामूहिक सामना गर्दै, सँगसँगै कष्टहरू पार गरौँ’ नामक राहत अभियानअन्तर्गत शुक्रबार टेकुमा आयोजित एक कार्यक्रमका बीच सीआरडीएफका कर्मचारीहरुले काठमाडौंको बाढिपीडितहरूलाई राहत प्याकेज वितरण गरेका छन् ।

यो राहत प्याकेजमा दैनिक प्रयोग हुने सामग्रीहरू टुथपेस्ट, टुथब्रश, तौलिया र साबुन, पानी भण्डारणका लागि बाल्टिन र गाग्री, महिलाहरूका लागि सेनेटरी प्याड, आपतकालीन खाद्यसामग्री (चामल, पीठो, तेल, र कम्प्रेस्ड बिस्कुट), तथा तातोपन र लामखुट्टेबाट बच्नको लागि सिरक, डसना, सिरानी र झुल समावेश छन् ।

गुडविल फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गत असोज ११ र १२ गते काठमाडौँ उपत्यका र नेपालका अन्य भागहरू लगातार भारी वर्षापछि आएको विनाशकारी बाढी र पहिरोले मानव जीवन र सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ । २२० जना भन्दा बढी व्यक्तिले आफ्नो जीवन गुमाएका छन्, दर्जनौँ बेपत्ता भएका छन्, र सयौं घाइते भएका छन् । यस घटनालाई मध्यनजर गर्दै, चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टसँग मिलेर हामीले ‘नेपालको विनाशकारी बाढी राहत सहयोग अभियान’ सुरू गरेका छौं । यो अभियानलाई विभिन्न चरणमा हामीले निरन्तरता दिनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?