पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा उदाहरणीय बनाउन मन्त्री पौडेलको जोड

लोकपथ
28
Shares
फाइल तस्बिर

ललितपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाकाे सेवा उदाहरणीय बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिष्ठानको आज निरीक्षण गर्दै मन्त्री पौडेलले अन्य सरकारी अस्पतालको तुलनामा प्रतिष्ठानको सेवा अझ उदाहरणीय बनाउनुपर्नेमा जोड दिएका हुन् । ‘यहाँको सेवा तुलनात्मक रूपमा राम्रो छ, यसलाई अझ राम्रो बनाउन जरुरी छ,’ उनले भने।

प्रतिष्ठानले अनलाइन सेवा थालेकामा प्रशंसा गर्दै मन्त्री पौडेलले कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सहज सेवा दिन आग्रह गरे ।  ‘अनलाइन सेवा अझ प्रभावकारी बनाउनुपर्छ’, उनले भने । अस्पतालको अवस्थाबारे जानकारी लिन आएको उल्लेख गर्दै मन्त्री पौडेलले सेवा प्रभावकारी बनाउनका लागि सघाउन मन्त्रालय तयार रहेको बताए ।

निरीक्षणका क्रममा मन्त्री पौडेललाई प्रतिष्ठानका उपकुलपति प्रा डा राजेशनाथ गंगोलले स्वागत गरेका थियो । आफ्नै स्रोत साधनमा धेरै बिरामीलाई सेवा प्रदान गर्नुपरेको उल्लेख गर्दै उनले अस्पतालको नयाँ भवन निर्माणका लागि सहयोग गर्न मन्त्री पौडेल समक्ष आग्रह गरे। सो अवसरमा मन्त्री पौडेलले अस्पतालको नयाँ भवन निर्माणका लागि पहल गर्ने आश्वासन दिए ।

मन्त्री पौडेलले विपद्का क्रममा घाइते भएका बिरामीको उपचारबारे जानकारी लिँदै सरकारले घोषणा गरिएअनुसार नै निःशुल्क सेवा दिएकामा अस्पताललाई धन्यवाद दिए। प्रतिष्ठानका रजिष्टार डा पारसकुमार आचार्यले सेवाको गुणस्तर बढाउन मन्त्रालयको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?