मन्थली–काठमाडौं आवागमन फेरि अवरुद्ध

लोकपथ
273
Shares
फाइल तस्बिर

रामेछाप ।  लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको  मन्थली–काठमाडौं यातायात आज बिहानदेखि अवरुद्ध भएको छ । 

दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो । मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौंसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रूपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौं आवतजावत गर्ने गरी बाटो खुलाइएको  थियो ।  

बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौं जाने र तीनै स्थानका लागि काठमाडौंबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन् । अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?