बाढीपहिरो : काभ्रेमा सरकारी राहत प्रदान गर्न टोली परिचालन

लोकपथ
28
Shares

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षामा बाढीपहिरोले काभ्रेपलाञ्चोकमा जनधनको ठुलो क्षति भएपछि राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको छ । हाल जिल्लाका पाँच स्थानीय तहमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई संघीय सरकारद्वारा घोषित राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयबाट सबैभन्दा बढी मृतक सङ्ख्या रहेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नगरपालिका गरी पाँच स्थानीय तहमा टोली खटिएको हो । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक उमेशकुमार ढकालसहितको टोलीले सुरुमा बनेपा र पनौतीका एक/एक परिवारलाई राहत रकम उपलब्ध गराएको थियो । 

काभ्रेपलाञ्चोकमा पीडित परिवारलाई स्थानीय स्तरमै राहत दिन टोली खटाइएको ढकालले बताए । उनका अनुसार पीडित परिवारलाई दुःख नदिने उद्देश्यका साथ सकेसम्म मृतकका घरमै पुग्ने र कठिन अवस्थामा वडा कार्यालयसम्म पुगेर भए पनि राहत रकम प्रदान गर्ने गरी टोली परिचालित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?