‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’

लोकपथ
35
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी मैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् । 

रुपन्देही उद्योग संघको ४६औँ वार्षिक साधारणसभालाई  आज बुटवलमा सम्बोधन गर्दै उनले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकारले उच्च प्राथमिकता दिनुपर्छ बताए ।  उनले प्रदेश सरकारले अगाडि बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पारे।

 लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लामा औद्योगिक क्षेत्र बनाउने निर्णयलाई कार्यान्वयन गर्ने गरी काम अघि बढ्ने जानकारी दिँदै उनले उद्योगी, व्यवसायीको उत्साहसँग प्रदेशको समग्र विकासको सम्बन्ध जोडिएको छ ।

‘जबसम्म उद्योगी, व्यवसायीले निर्विवाद ढंगले उत्साहित बनाएर सरकार अघि बढ्न सक्दैन, तब सम्म मुलुकको पनि उन्नती हुन सक्दैन । प्रदेशको पनि विकास हुन सक्दैन । विकास गर्ने भनेकै निजी क्षेत्रले हो, ’मुख्यमन्त्री आचार्यले भने,‘सरकारले लगानीको वातावरण बनाउँछ । लगानी गरेर विकास गर्ने भनेको निजी क्षेत्रले हो ।’

मुख्यमन्त्री आचार्यले परनिर्भर होइन, आत्मनिर्भर हुन जरुरी रहेको जनाउँदै उत्पादनको क्षेत्रमा लगानी बढाउन उद्योगी, व्यवसायीलाई आग्रह गरे । उनले स्थानीय उत्पादनलाई बढाउने र आयात भन्दा निर्यातमा जोड दिन जरुरी रहेको र स्वदेशी उत्पादनलाई बढाउन सरकारले पनि साथ दिने स्पष्ट पारे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?