बडा दसैँका शक्तिपीठहरु

लोकपथ
42
Shares

काठमाडौं । वर्षभरिमा सयौं पर्व मनाइने नेपालमा दसैँ सबैभन्दा ठूलो चाड मानिन्छ । विशेषगरी दुर्गा देवीको उपासना र शक्ति पीठहरूमा पूजाआजा गरी दसैँ मनाइन्छ । भगवती दुर्गाले महिषासुरको वध गरी असत्यमाथि सत्यको विजय प्राप्त गरी समग्र मानव जातिको रक्षा गरैकेले दसैँमा नवदुर्गाको पूजाअर्चना गरिन्छ ।

बडादसैंमा विशेषगरी घटस्थापनादेखि नवमीसम्ममा अष्टमातृकाका रूपमा रहेका ब्रह्मायणी, माहेश्वरी, वैष्णवी, कुमारी, वाराही, इन्द्रायणी, महाकाली र महालक्ष्मीको पूजाआजा गरिन्छ । यी अष्टमातृकाको एकल रूपमा नयाँ दुर्गा (नवदुर्गा)को जन्म भई असुर जातिमाथि विजय गरेको विश्वास हिन्दू धर्मावलम्बीहरूको रहेको छ ।

हिन्दूहरूको महान् पर्व बडादसैँमा घटस्थापनाको दिनदेखि नै विभिन्न शक्तिपीठहरूमा पूजाअर्चना गरिन्छ । यी पीठहरूमा पूजा गर्नुका कारणका रूपमा अनेकौं धार्मिक विश्वास एवम् किंवदन्ती जोडिएका छन् । दसैंमा विशेषगरी अम्बिका, उमा, दुर्गा, कालिकालगायत विभिन्न शक्तिलाई नवदुर्गाको रूपमा पूज्ने गरिन्छ । काठमाडौंको शोभा भगवती, दक्षिणकाली, भद्रकाली, नुवाकोटको भैरवी, गोरखाको मनकामना, काभ्रेको पलाञ्चोक भगवतीलगायत मन्दिरमा पनि घटस्थापनादेखि नै भक्तजनले देवीहरूको पूजाआराधना गर्छन् । भक्तपुरमा अष्टमातृकाका शक्तिपीठहरूमा तिथिअनुसार पूजाआराधना गरिन्छ ।

गुह्येश्वरी : बागमती नदीको दक्षिणी किनारामा रहेको गुह्येश्वरी सतीदेवीको गुह्य पतन भएको स्थान मानिन्छ । यो स्थानमा सर्वप्रथम तेत्तीसकोटी देवताहरूले पूजाआराधना गरेको विश्वास पनि छ । घटस्थापनादेखि नै गुह्येश्वरीमा विशेष पूजाआराधना हुन्छ ।

जालपादेवी : जालपादेवी नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि ८ किलोमिटर दक्षिणमा त्रिशूली नदीको किनारामा छ । यस स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम कामधेनु गाईले पूजाआराधना गरेको मानिन्छ । यहाँ घटस्थापनादेखि नै भक्तजनहरूको घुइँचो लाग्छ ।

श्री भैरवी : काठमाडौंको गोकर्ण क्षेत्रमा यस मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको बायाँ कान पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम विषकुम्भहरूले पूजा आराधना गरेको मानिन्छ । बडादशैंको अवसरमा घटस्थापनादेखि नै श्रीभैरवीको विशेष पूजाआजा गरिन्छ ।

श्री दन्तकाली : यो मन्दिर सुनसरी जिल्लाको धरानमा छ । यहाँ सतीदेवीको दाँत पतन भएको विश्वास गरिन्छ । यस स्थानमा पनि बडादशैंको अवसरमा घटस्थापनादेखि नै विविधपूर्वक पूजाआराधना गरिन्छ ।

कमलाक्षी : सल्यान जिल्लाको लक्ष्मीपुरमा श्री कमलाक्षीको मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम योगमार्गीहरूले पूजाआराधना गरेको मानिन्छ । एउटा पहाडको रूपमा रहेको यो मन्दिरमा करङका आकृतिहरू देखिन्छ ।

श्री गलेश्वरी : म्याग्दी जिल्लाको राहुघाटमा कालीगण्डकीको किनारमा रहेको यस स्थानमा सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजाआराधना गरेको मानिन्छ ।

श्री जलपादेवी : यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि ५ किलोमिटर पश्चिम र छामगाम खोलाको किनारमा अवस्थित छ । यस स्थानमा सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ ।

श्री वागेश्वरी : बाँके जिल्लाको नेपालगञ्चमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम किन्नर गणहरूले पूजा आराधना गरेको मानिन्छ ।

श्री छत्रेश्वरी : सल्यान जिल्लाकै छायाछत्रमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेवीको शेष रहेको सबै अङ्ग पतन भएको मानिन्छ । यहाँ सर्वप्रथम अष्ट भैरवले पूजा आराधना गरेकाले यहाँ कुनै अवसरमा पनि बलि चढाइँदैन ।

काठमाडौं शक्तिपीठ
काठमाडौं उपत्यकामा शक्तिका विविध स्वरूपलाई कुनै अलौकिक वा मिथकका रूपमा नभई लौकिक स्वरूपमा ग्रहण गर्ने परिपाटी छ । विभिन्न देवीलाई अजिमा (हजुरआमा देवता) र आजुद्यः (बाजे देवता) का रूपमा लिएर शक्तिबाट मातृवात्सल्यताको कामना राखी शक्तिसँग सन्निकट भएको महसुस गरिन्छ । काठमाडौँका कतिपय समुदायले विभिन्न देवदेवीलाई आफ्नो पुर्खाका रूपमा ग्रहण गरेको पाइन्छ ।

(१) कङ्ग अजिमा (कङ्केश्वरी), (२) न्यतमरू अजिमा (श्वेतकाली, नरदेवी), (३) लुँति अजिमा (इन्द्रायणी, ढल्को), (४) म्हैपी अजिमा (ज्ञानेश्वरी, म्हैपी), (५) मैतीअजिमा (पञ्चकुमारी, बालकुमारी, मैतीदेवी), (६) तकती अजिमा (नीलवाराही, कालीमाटी), (७) बछला अजिमा (वत्सलादेवी, पशुपति) र (८) लुँमढी अजिमा (भद्रकाली, टुँडिखेल) ।
खड्गाकारमा स्थापित अष्टमातृका नै काठमाडौंका प्रमुख शक्ति पीठ हुन् ।

अजिमा (वैष्णवी), कङ्ग अजिमा (वाराही), लुँति अजिमा (इन्द्रायणी), प्वार्पा अजिमा (चामुण्डा, नारसिंही), चन्द्रलखु अजिमा (महालक्ष्मी), पासिक्व अजिमा (ब्रह्माणी), लुँमढी अजिमा (महेश्वरी) र फिब्ब अजिमा (कौमारी) हुन्। खड्गको बिँडका रूपमा पचली भैरव रहेका छन् ।

काठमाडौंका अन्य शक्तिपीठहरु
नई अजिमा (नकिनि अजिमा, पचली, टेकु), ख्वना अजिमा (सिकाली पचली, टेकु), पासिक्व अजिमा (महालक्ष्मी, तीनधारा पाठशाला, कमलादी), फिसः (फिब्ब अजिमा, टुकुचा, माइतीघर), मनमैजु अजिमा (मनमैजु), असंभुलु अजिमा (अन्नपूर्ण देवी, असन), लुचुंभुलु अजिमा (केलटोल), कुलांभुलु अजिमा (रक्तकाली, त्यङ्गल), सख्वना माजु (नील सरस्वती, लैनचौर, लाजिम्पाट), कल्खु अजिमा (कलङ्की), तुसिमरु अजिमा (श्वेतकली, बालुवाटार), कुलेश्वर अजिमा (कुलेश्वर), प्राचीन बौद्ध अजिमा (बौद्ध), त्वरद्यः अजिमा (टुडाँलदेवी, विशालनगर), वटु अजिमा (भद्रकाली, वटु), पोर्पा अजिमा (रानी देवी, रानीबारी, लाजिम्पाट), प्याथ्वः अजिमा (बाइसधारा, बालाजु), दोलब्व (दोला) अजिमा (कुमारी, राष्ट्रबैङ्क गेटसँगै, थापाथली), न्हेकंतला अजिमा (उग्रतारा, न्हेकंतला), चन्द्रलखु अजिमा (नारायणहिटी दरबारभित्र), अरीं अजिमा (चिकंमुगल), दुई अजिमा (दुमाजु) (रत्नपार्क, खुलामञ्च गेट), भमलु अजिमा (कमलादी, असन), हारती अजिमा (स्वयम्भू), विजेश्वरी अजिमा (विजेश्वरी), ममता अजिमा (भाटभटेनी), जातिका अजिमा (थबःहि), हाकु अजिमा यट्खा (चोखाछेंगल्ली), महालक्ष्मी अजिमा (जनसेवा), ज्वाला अजिमा (त्यौढ), बिजेश्वरी अजिमा (बिजेश्वरी), तारिणी अजिमा (मखन बहाल), चास्को अजिमा (रुद्रायणी)  ।

तलेजु भवानी, द्वयमाजु (दिगु तलेजु), पुरानो गुह्येश्वरी (गोलढुङ्गा), गुह्येश्वरी (ग्वँल), शुभाभगवती (स्वाहाभगवती), दक्षिणकाली, नक्साल भगवती, कालिकास्थान, डिल्लीबजार, मैतिदेवी, कलङ्कीमाई, धुम्बाराही, भाटभटेनी, चामुण्डा (शङ्खमुल)  ।

भक्तपुरका शक्तिपीठ
ब्रह्मायणी, माहेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी । भक्तपुरमा यी नौ शक्तिपीठलाई क्रमैसँग प्रतिपदादेखि महानवमीसम्म पुजिने गरिन्छ ।

दसैँका महत्वपूर्ण ३ दिन
दशैंको सातौं दिन अर्थात् महासप्तमीदेखि विजयादशमीको दिनसम्मलाई विशेष दिनको रूपमा लिइन्छ । दसैँ पर्वलाई परापूर्वकालदेखि नै मनाउँदै आएको भए पनि शाहवंशको पालाबाट गोरखाको दरबारबाट ल्याएको फूलपाती काठमाडौंको वसन्तपुरको जमरा घरमा भित्र्याउने चलन छ । सप्तमीको दिनदेखि बलि दिने प्रचलन छ भने महाअष्टमीको दिन शक्ति पीठहरूमा पूजाआजा गरी बलि दिने गरिन्छ । यो दिन नेवार समुदायले कुछिभ्वेँ (दुई माना चिउरासहितको विशेष भोज) खाने गर्छन् ।

दसैँको नवौं दिन नवमी पर्वका रूपमा मनाउने गरिन्छ । यो दिन विशेषगरी काठमाडौंको तलेजु भवानीको पूजाअर्चना गरिन्छ भने घरघरमा देवी माताको पूजाआराधना गर्ने प्रचलन पनि छ । नेवारी समुदायमा यो दिनको बिहान घरेलु औजार, मेशिनरी सामान, सवारीसाधनको पूजाआजा गर्ने चलन छ । यस्तै, अधिकांश नेवार समुदायले यो दिन ढुकुटी कोठामा दुर्गा पूजा गरी हाँस, कुखुरा वा बोका बलि दिने पनि गर्छन् । यो दिन भक्तपुरमा महिषासुरको प्रतीकको रूपमा रहेको राँगालाई नवदुर्गा भवानीको देवघरदेखि ब्रह्मायणी पीठसम्म जात्रा गरी दौडाउने चलन छ । यही दिन कालरात्रि पर्ने भएकाले नवदुर्गा देवगणले महिषासुरको प्रतीकको रूपमा रहेको राँगा (खमे)को वध गरी आलो रगत पिउने परम्परा छ । आफूले वर्षभरि प्रयोगमा ल्याउने सवारीसाधनहरूको समेत पूजा गर्ने प्रचलनसमेत रहिआएको छ ।

महानवमीको कालरात्रिमा महिषासुरको वध गरिएकोमा दशौं दिन हर्षोल्लासपूर्वक विजयादशमीको खुशियाली मनाइन्छ । साथै, यही दिन मान्यजनबाट टीका तथा आशिष थाप्ने प्रचलन छ । यो दिन दसैँको मुख्य दिनका रूपमा रहेकाले आफ्ना मान्यजनबाट टीका ग्रहण गर्न जानेहरूको घुँइचो पनि देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?