हराएका २६ वटा सवारी साधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण

लोकपथ
140
Shares

काठमाडौं । विभिन्न मितिमा हराएका २६ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले आइबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रमकाबीच यस कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले  १६ वटा मोटरसाइकल र १० वटा स्कुटर सम्बन्धित धनीलाई  हस्तान्तरण गरेका हुन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काडाँघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगंज, बुढानिलकण्ठ, नेपालटार, ठमेल र कंलकी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 

आज बुझाइएका २६ वटासहित १४१ वटा सवारी साधन साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका १३ वटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न १७ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।  

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत/जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले अनुरोधसमेत गरेका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?