विद्यालयमा शौचालयको अभाव हुँदा विद्यार्थी र शिक्षक समस्यामा

लोकपथ
28
Shares

मुगु । तामझामका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको मुगुका विद्यालयका विद्यार्थीहरू शौच गर्न जंगल र झाडीतिर जान बाध्य छन् । 

मिति २०७५ जेष्ठ २८ मा साविकका २४ गाउँ विकास समितिमा तामझामसहित राज्यकोषबाट ठूलो लगानी खर्च गरेर खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिए पनि विद्यालयमा शौचालय र पानीको अभावमा विद्यार्थीहरू जंगलतिर धाउन बाध्य बनेका हुन् ।

पश्चिम भेगमा पर्ने सोरु गाँउपालिकाको वडा नम्बर ३ ठूलागाँउमा रहेको गुरु माध्यमिक विद्यालयमा अध्यानरत एकसय १९ छात्र, एकसय ६२ छात्रागरी जम्मा दुईसय ८३ जना विद्यार्थीहरू विद्यालयमा खानेपानी वा हात धुने पानीको व्यवस्था नहुँदा अन्यन्त्र जान बाध्य बनेका हुन् ।

विद्यालयमा रहेका दुईवटा शौचालय र एकवटा यूरिनलमा दिशा र पिसाबले भरिएका कारण विद्यार्थीहरू दिशा र पिसाब गर्न बन जगंल, खेतबारीमा जान बाध्य भएका हुन् । घर नजिक भएका विद्यार्थीहरू आफ्नै घरमा जाने गरे पनि टाढा भएकाहरू वन जंगल र खेतबारीमा जाने गरेको स्थानीयहरू बताउने गर्छन् । 

विद्यालयमा निर्माण गरिएका शौचालय दिशा र पिसाबले भरिभराउ र फोहोर छन् । तर व्यवस्थापन समिति साथै स्थानीय सरकारले त्यसमा चासो नदिएका कारण विद्यार्थी र शिक्षकहरूलाई नै समस्या भएको कक्षा ८ मा अध्ययनरत छात्रा निरुता थामीले बताइन ।

विद्यालयमा रहेका शौचालयहरु पहिला दुई तीन पटक निर्माण तथा मर्मत गरिएको तर पानी प्रयोग गर्ने तरिका नसिकाएको, शौचालय र धारा बिग्रेको हुनाले शौचालय प्रयोग गर्नमा समस्या आएको अभिभावक जगत बहादुर सेजुवालले बताए ।

विद्यालयमा दुईवटा शौचालय निर्माण गरिएको भए पनि विशेष गरी पानीको समस्या भएका कारण विद्यार्थीको पढाइमै वाधा पर्ने गरेकाले सम्बन्धित निकायहरुले सहयोग गरिदिन शिक्षक युवराज बलले आग्रह गरे । समस्या समाधानका लागि पालिकाले ६८ लाखको शौचालयसहित विद्यालय भवनका लागि बजेट विनियोजन गरी पालिका लागि परेको पालिका उपाध्यक्ष केशर बहादुर शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?