कृषि तथा घरेलु उद्यमी मेला : मौलिक उत्पादनमा आकर्षण

लोकपथ
21
Shares

काठमाडौं । राजधानीको राष्ट्रिय सभागृहमा ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दसैँ महोत्सव २०८१ चलिरहेको छ ।

प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका चिउरालगायतमा अवलोकनकर्ताहरुको आकर्षण देखिएको छ ।

यस्तै प्रदर्शनीमा सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन, नेपाली जुत्ता उपभोक्ताहरुले मन पराएका छन् ।
घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको राष्ट्रिय सभागृहको परिसरमा सञ्चालित मेला आगामी असोज २४ गतेसम्म चल्नेछ ।

काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहेको छ ।

घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले काठमाडौ महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहेको बताए ।

काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने लघु, घरेलु तथा साना उद्योहरुको प्रवर्द्धन र बजारीकरणमा सघाउन प्रदर्शनी आयोजना गरिएको बताइन् ।

घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्वारा उत्पादन गरिएका वस्तुहरूलाई प्रवर्द्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्वारा उत्पादित वस्तुहरूको उपभोगमा वृद्धि गरी बेरोजगारीलाई केही हदसम्म कमी ल्याउने उद्देश्य रहेको बताइन् ।

काठमाडौं जिल्लाका चन्द्रागिरि नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंको सहकार्य र सहआयोजना रहेको प्रदर्शनीमा बढी भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरूलाई अवलोकन गराई नेपाली उत्पादन तथा वस्तुहरूको ब्राण्डिङका साथै पहिचान गराउने मेलाको उद्देश्य रहेको संघकी अध्यक्ष कार्कीले बताइन् ।

प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफूल, चोयाको सामान, तयारी पोसाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका चिउरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लास्टिकबाट पुनः प्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?