चितवन । रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा आज बिहान सवा ९ बजे मोटरसाइकल अनियन्त्रित भई मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जंगलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा चालक र पछाडि बस्ने गरी छ जना घाइते भएको तथा घाइतेमध्ये गम्भीर अवस्थामा रहेका स्कुटर चालक स्याङ्जाका आदिखोला गाउँपालिका–३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजेको समयमा मृत्यु भएको हो ।
स्कुटरको पछाडि सवार स्याङ्जाको फेदीखोला गाउँपालिका–२ बस्ने १७ वर्षीय रश्मि शर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको तथा बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको छ ।
त्यसैगरी ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको रिजालले जानकारी दिए।
ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर–८ चितवनका प्रेमप्रसाद रिजाल र पछाडि बस्ने गैडाकोट नगरपालिका–८ की बिविका सापकोटाको अवस्था सामान्य घाइते रहेको र उनीहरूको बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया