ओली सरकारप्रति रुष्ट बन्दै रेशम चौधरी, भन्छन् : ‘दसैँपछि सरकारबाट बाहिरिन्छौँ’

लोकपथ
210
Shares
फाइल तस्बिर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा नेता रेशम चौधरी यतिबेला सत्ता गठबन्धनसँग त्यति धेरै खुशी छैनन् । श्रीमती रञ्जिता श्रेष्ठसँगको उनको ‘राजनीतिक द्वन्द्व’ अहिले केही हदसम्म ‘मथ्थर’ भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी उनकी श्रीमती श्रेष्ठको ‘राजनीतिक चर्चा’ पनि कांग्रेस–एमाले गठबन्धनपछि खासै सुनिएको छैन ।

नागरिक उन्मुक्ति पार्टी अहिले कांग्रेस–एमाले गठबन्धनमै रहेको छ । सो पार्टीको केन्द्र र प्रदेश सरकारमा पनि सहभागिता रहेको छ । तर रेशम भने पछिल्ला दिनमा सरकारको काम कारबाहीप्रति त्यति खुशी छैनन् । उनले पछिल्ला दिनमा ‘दसैँपछि आफ्नो दल सरकारमा नरहने’ अभिव्यक्तिसमेत दिन थालेका छन् ।

सोमबार आफ्नो भिडिओ सन्देश मार्फत् उनले आफ्ना पार्टीका मन्त्रीहरूलाई काम गर्ने वातावरण सृजना नगरिदिएको र अधिकार नदिएको भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

नाउपाको संघीय संसदमा चार, सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेश प्रदेशमा एक सांसद छन् । अहिले संघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी र सुदूरपश्चिम प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा लक्ष्मणकिशोर चौधरी छन् ।

उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक हुँदा हुँदै अधिकार नदिएको भन्दै चर्काे असन्तुष्टि जनाएका छन् ।
‘सुरुबाटै सरकारमा सहभागी नहुने नीति थियो पार्टीको, तर केही जनप्रतिनिधिहरूका कारण सरकारमा सहभागी हुनुपर्ने अवस्था आयो, तर, उहाँहरुलाई पनि काम गर्ने अवसर दिइएन । यही स्थिति रहिरहे दसैँपछि सरकारबाट बाहिरिन्छौँ,’ उनले असन्तुष्टि पोख्दै भने ।

उनले भने, ‘मेरो चाहना सुरुबाटै सरकारमा सहभागी हुनु होइन । सरकारमा सहभागी हुन जनताले हामीलाई म्यान्डेट पनि दिएका छैनन् । जनप्रतिनिधिहरूको मागले गर्दा प्रदेश र संघमा गएका हौँ, संघको सरकारमा हामी असफल रह्यौँ । स्वर्गद्वारी गुटी न्यायोचित न्याय दिन सकेनौँ, मुक्त कमैयाहरूलाई लालपुर्जा वितरण गर्न सकेनौँ ।’

उनले संघमा आफूहरूले काम गर्न नसक्नुमा अधिकार नदिनु प्रमुख कारक रहेको औंल्याए । उनले भने, ‘त्यो बेला सरकारमा सहभागी हुने निर्णय हाम्रो भूल थियो । हामीले स्वीकार गरेका छौँ । हामीले काम गर्न नसक्नु हाम्रो कमजोरी मात्रै होइन । अरूको घेराबन्दीमा परेका छौँ, ‘सरकार बन्नुभन्दा पहिले दलहरूसँग हामीले सम्झौता गरेका थियौँ, अहिले त्यो अनुसार भएको छैन । ठुला दल हाम्रो अधिकारका विषयमा गम्भीर भएनन् भने हामी सत्तामा बस्दैनौँ ।’

उनले संघीय सरकारका राज्यमन्त्री अरुण चौधरीलाई भूमिकाविहीन बनाइएकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन् । ‘अधिकार दिनुहोस्, जनताको बिचमा जाने अवसर दिनुहोस् भन्दा भन्दै ठुला दलले सुनिरहेको अवस्था छैन । ठुला दलले यो कुरा नसुन्ने हो भने केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर जनतामा जान्छौँ, दसैँ पछाडिबाट हामी सहभागी हुन्नौं ।’

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक थारु मुख्यमन्त्री बन्ने अवसर पनि आफ्नै पार्टीका कारण चुकेको उनको भनाइ थियो । ‘हामीले थारु मुख्यमन्त्री गुमायौँ । यसको कारण रेशम र रन्जिताले मात्रै होइन । केही स्वार्थी जनप्रतिनिधिहरूले पार्टी बुझ्न सकेनन्,’ उनले भने ।

लुम्बिनी प्रदेशमा राजकुमार चौधरीलाई शपथ नखुवाएकोमा पनि उनले ठुला दलप्रति आक्रोश पोखेका छन् । आफ्नो र रञ्जिता श्रेष्ठबीचको विवाद व्यक्तिगत नभएर सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा उत्पन्न भएको र अहिले त्यो विवाद मत्थर भइसकेको बताउँछन् उनी ।

‘हामी एक ठाउँमा आएका छौँ । रेशम र रन्जिताको व्यक्तिगत विवाद थिएन । विवाद सरकारमा जाने वा नजाने भन्नेमा थियो । त्यो विवादलाई जनप्रतिनिधिले मत्थर गर्नु पर्ने थियो । कुर्चीको लागि गरिएको विवादलाई हामीले पनि मत्थर गर्न सकेनौं, अब नाउपा एक ढिक्का भएर अगाडि हिँड्छ । हामी एक दुई जना जनप्रतिनिधि गुमाउन चाहन्छौँ तर, मुद्दा गुमाउन चाहन्नौँ,’ उनले भनेका छन् ।

रेशम चौधरीले नेतृत्वको निर्देशन उल्लंघन नगर्नसमेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले पार्टी अध्यक्ष, केन्द्रीय समितिको निर्देशन अटेर गर्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?