शाकाहारीको दसैँ : यस्ता हुन सक्छन् स्वादिष्ठ परिकार

लोकपथ
98
Shares

काठमाडौं । नेपालीहरुको महान चाड दसैँ धर्म, संस्कृति र सभ्यतासँग जोडिएको पर्व हो ।

दसैँ विभिन्न कारणले सम्झिन लायक हुन्छ, त्यो मध्ये खानपान पनि एक हो ।

दसैँमा विशेषगरी माछा मासुको खपत अत्यधिक हुन्छ । वर्षभरी मासु खान नसकेकाहरूले पनि ऋण गरेरै भएपनि दसैँमा एकदुई छाक मासु खाने चलन छ ।

त्यसैले मांसाहारीहरुका लागि दसैँ आफैँमा विशेष चाड हो । दसैँको अष्टमीका दिन खसीबोका, रांगा च्याङ्ग्रा लगायत पशुपंक्षीहरु खाने चलन छ । त्यसबाट पनि विभिन्न परिकारहरु खाइने गरिन्छ । माछामासु खानेहरुले त विभिन्न परिकारहरु खाइरहेका हुन्छन्, तर शाकाहारीले चाँही दसैँ लगायत चाडवाडमा के–के खान्छन् त ? धेरैको जिज्ञाशा हुनु स्वभाविक हो ।

शाकाहारीहरुले पनि दसैँलाई खानपान विशेष पर्व बनाउन सक्छन् । यो फूर्सदको समय भएकाले पनि उनीहरुले आफूलाई मनपर्ने परिकार घरमै बनाएर खान सक्छन् । त्यसो भए भेजिटेरियनले दसैँमा कस्ता परिकार बनाउने त ? लाजिम्पाटस्थित र्‍याडिसन होटलका सेफ सरोज तिवारी भेजहरुका लागि पनि थुप्रै परिकार बनाएर दसैँलाई विशेष बनाउन सक्ने बताउँछन् ।

‘भेजिटेरियनहरुले भेज बिर्यानी, मसरुम मटर ग्रेभी, पनिरका परिकार, पुलाउ, काउलीको पकौडा, कुरिलोको तरकारी, फलफूल, दूधका परिकार खान सक्छन्,’ उनले भने ।

भेज बिर्यानी कसरी बनाउने ?

भेज बिर्यानी बनाउनका लागि बासमती चामलको आवश्यकता पर्छ । सबैभन्दा पहिले चामललाई केही समय भिजाउनुहोस् । आफ्नो आवश्यकता अनुसारको चामल ढडाएपछि त्यसलाई ३० मिनेटसम्म छोड्नुहोस् ।

आवश्यक सामग्री

स्यासरोन, काउली, तेजपत्ता, गाँजर, आलू मटर पनिर, गोलभेँडा गरम मसला, बिर्यानी मसला, प्याज, अदुवा लसुनको पेस्ट, बेसार नुन तेल, खुर्सानी, जिरा हुन् ।

भेजिटेबल आफ्नो आवश्यकता अनुसारका प्रयोग गर्न सकिन्छ । माथि उल्लेखित जस्तै काउली मटर गाजर,पनिरहरुलाई हाफ ब्वोइल गर्नुहोस् ।

बनाउने तरिका

सबै मरमसला तयार पारिसकेपछि एउटा भाँडामा तेल हाल्नुहोस् । तेल तातेपछि जिरा हाल्नुहोस् जिरा रातो भएपछि प्याज हाल्नुहोस् । प्याज रातो नहुने बेलासम्म भुट्नुहोस् । त्यसपछि गरममसला खुर्सानी हाल्नुहोस् मज्जाले भुट्नुहोस् । एकछिन भुटेपछि त्यसमा अदुवा र लसुनको पेस्ट हाल्नुहोस् । फेरि, मज्जाले भुट्नुहोस् । भुटेपछि त्यसमा पानी हाल्नुहोस् । अब बिर्यानी मसला हाल्नुहोस् । नुन, बेसार र खुर्सानीको धुलो हाल्नुहोस् । तेलमाथि पानीमा तैरिन थालेपछि हाफ ब्वोइल काउली, मटर लगायतका सब्जीहरुलाई त्यसमा हाल्नुहोस् । एकछिन् पकाउनुहोस् ।

चामल ढडाएको ३० मिनेट भएपछि बिर्यानी पकाउने भाँडामा आवश्यकता अनुसारको पानी उमाल्नुहोस् । त्यसमा घ्यू हाल्नुहोस् । ढडाएको चामललाई पनि हाल्नुहोस् । बनाएको मसला र सब्जीपनि त्यसमै मिसाउनुहोस् । बिर्यानी मसला पनि माथिबाट अलि–अलि थप्नुहोस् । त्यसपछि सानो राफमा पकाउनुहोस् । रोजबटर छ भने त्यसको पनि प्रयोग गर्नुहोस् । अब तपाईंको बिर्यानी तयार हुन्छ ।

त्यस्तै, शाकाहारीहरुका लागि अर्को स्वादिष्ट परिकार भनेको पनिर कटलेट पनि हो । जसको बनाउने विधि र तरिका यहाँ प्रस्तुत गरिएको छ ।

मसालेदार पनिर कटलेटका लागि आवश्यक सामग्रीः

पनिर (आवश्यकता अनुसार), एक कप बेसन, रातो खुर्सानीको धुलो, चाट मसला, गरम मसला, एक चिम्टी धनियाँ, स्वादअनुसार नुन, फ्राइको लागि तेल, चिल्ली सस ।

कसरी बनाउने ?

सबैभन्दा पहिले ब्याटर बनाउनको लागि बेसनमा नुन हाल्नुहोस् । त्यसपछि एक चम्चा रातो खुर्सानीको धुलो, धनियाँको धुलो, गरम मसला, चाट मसला मिसाउनुहोस् । एक चम्चा बेसार पनि हाल्नुहोस् । बेसार हालेपछि बिस्तारै पानी हालेर ब्याटर बनाउनुहोस् । ब्याटर बनाउँदा ध्यान राख्नुहोस् कि यसमा डल्लो नबनोस् । र, यो धेरै पातलो हुनु हुँदैन । पनिरलाई आफूलाई मन लागेको आकारमा काट्नुहोस् । चीजको टुक्रालाई अलिकति राख्नुहोस् ।

पनिर रेसिपी

सबै पनिरको टुक्राहरूको बीचबाट हल्का चिरा बनाउनुहोस् र यसमा हरियो चटनी वा चिली सस भर्नुहोस् । यसले पकौडालाई मसालेदार र स्वादिष्ट बनाउनेछ ।

त्यसपछि पनिरलाई अगाडि बनाउनु भएको ब्याटरमा पनिरका टुक्राहरुलाई मोल्नुहोस् ।

मोलिसकेपछि कन्ती वा फ्राइप्यानमा तेल हाल्नुहोस् र पनिरलाई मन्द हिटमा पकाउनुहोस् ।

यसरी तपाईंको पिनर कटलेट तयार हन्छ । टमाटर सससँग तातो तातो पनिर कटलेट खानुहोस् ।

यी मात्र होइन यी भन्दा धेरै शाकाहारी आइटमहरु हामी बनाउन सक्दछौँ । मासुले स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ, त्यो हामीलाई थाहा छ, तर त्यसलाई जान्दाजान्दै पनि हामी मासु छाड्न भने सकिरहेका हुँदैनौँ । हाम्रो खानपान जति सादा भयो, हाम्रो स्वास्थ्य त्यति नै स्वस्थ बन्न सक्ने पोषणविद्हरुले बताउने गर्दछन् । त्यसकारण मासु खाँदा पनि धेरै मसलेदार नबनाइ खानु राम्रो मानिन्छ । मासु खाँदा पनि त्यसमा सलादहरुको मात्रा बढाउन सकेमा थप फाइदा पुग्ने पोषणविद्हरुको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?